सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै आन्दोलनको चौधौँ दिन प्रदर्शनकारीले कालो पट्टी बाँधेर दौड जुलुश प्रदर्शन गरेका छन् ।

सरकारले संविधान संशोधन गरी पाँच नम्बर प्रदेश टुक्र्याउन लागेको विरोधमा लगातार बन्दको चौधौँ दिन पनि गुल्मी जिल्ला बन्द गरिएको छ ।
संशोधनको विरुद्धमा आन्दोलन चर्किएको धेरै दिन बित्दा समेत सरकारले कुनै सुनुवाइ नगरेको भन्दै छिटो संशोधन प्रस्ताव फिर्ता ल्याउन दबाव दिन दौड जुलुश प्रदर्शन गरिएको संयुक्त सङ्घर्ष समिति गुल्मीले जनाएको छ ।
युवा विद्यार्थीको अगुवाइमा निकालिएको जुलुशमा नेकपा मालेकी सांसद कमला विश्वकर्मासहित विभिन्न राजनीतिक दल, नागरिक समाज र स्थानीयको सहभागिता रहेको थियो ।
सदरमुकाम तम्घासको उदिनढुङाबाट टाउकोमा कालोपट्टी बाँधेका युवाहरूले नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरेका थिए । कोण सभामा संसद विश्वकर्माले पाँच नम्बर प्रदेशबासी जनताको हित विपरित ल्याएको प्रस्ताव आफ्नो पार्टी र आफूलाई मान्य नभएको भन्दै आन्दोलन गरिएको बताउँदै भनिन्-‘यदि मतदान भएपनि बिफल बनाउन लाग्छौँ ।’
मङ्सिर १४ गतेदेखि जिल्ला बन्द हुँदा जनजीवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानैदेखि बन्द गराउँदै हिँडेकाले जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प छन् ।
गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, नागरिक समाज, नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दललगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ ।
सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले बताए ।