१५ वर्षीया बालिकालाई मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा काठमाडौँ साङला नपा-१ का २६ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाका अभिभावकले बालिका हराएको उजुरी मङ्सिर १६ गते काठमाडौँ र हेटौँडा जिल्ला प्रहरी कार्यालयमा दिएका थिए ।
उजुरीका आधारका खोजतलास गर्ने क्रममा आरोपित अधिकारीले विवाह गरेर भागेको बयान दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उमेर नपुगेकी बालिकालाई विवाह गर्नु भनेको बलात्कार गरेको ठहर्ने भएकाले आरोपितविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा मङ्सिर २७ गते गरिएको छ ।
त्यसैगरी १५ वर्षीया बालिकालाई मङ्सिर १६ गते बलात्कार गरेको आरोपमा हाँडिखोला गाविस-७ का १९ वर्षीय अजित चेपाङलाई मङ्सिर २८ गते प्रहरीले हेटौँडावाट गिरफ्तार गरेको छ ।
पीडित बालिकाका अभिभावकले मङ्सिर १७ गते बालिका खोजतलास गरिदिन निवेदन दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा मङ्सिर २८ गते गरिएको छ । पीडित दुवै बालिकालाई भगाएर अन्यत्रै लगेर बलात्कार गरेको आरोप छ ।