सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत १ सय ५९ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण हुन नदिन प्रदेश २ मा उच्च सतकर्ता अपनाएको छ ।
कोरोना भइसरको सङ्क्रमण बारे जानकारी दिने उद्देश्यले चैत ५ गते जनकपुरधाममा सामाजिक विकास मन्त्रालयले पत्रकारहरुसँग आयोजित एक कार्यक्रममा सो जानकारी गराएको हो ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत प्रदेश २ को २३ ठाउँमा हेल्प डेस्क स्थापना गरिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक डा. हरिश्चन्द्र साहले बताउनु भएको छ ।
प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमण हुन नदिनका लागि भारतसँग खुल्ला सिमाना नाकाहरूमा विशेष निगरानीका साथै यात्रुहरूलाई चेकजाँच गरेर मात्रै आवतजावत गर्न दिइएको निर्देशक साहले जानकारी दिनु भयो । सङ्क्रमित व्यक्ति फेला परेको खण्डमा प्रदेश २ को पाँच ठुला अस्पतालमा उपचारको लागि व्यवस्था गरिने गरि तयारी गरिएको उहाँले बताउनु भयो ।
स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. बिजय झाका अनुसार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ५० बेड, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा तीन बेड, नेशनल मेडिकल कलेज वीरगंजमा ५० बेड, जानकी मेडिकल अस्पताल जनकपुरको रमदैयामा ६० आइसोलेसन बेड, सिटी अस्पतालमा २० गरि ८० ओटा र प्रादेशिक अस्पताल जनकपुरमा १० ओटा आइसोलेसन बेडको व्यवस्था गरिएको बताउनु भएको छ ।
प्रदेश २ मा विरामी निकै सिकिस्त भएर भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको खण्डमा जानकी मेडिकल कलेजमा १० ओटा भेन्टिलेटर, प्रादेशिक अस्पतालमा तीन ओटा, नेशनल मेडिकल कलेज वीरगंजमा २६ ओटा र नारायणी उपक्षेत्रीय अस्पतालमा पाँच ओटा भेन्टिलेटरको व्यवस्थापन गरिएको डा. झाले बताउनु भएको छ ।

