नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सल्यान जिल्ला इन्चार्ज कोहलपुर नपा–१० का ५२ वर्षीय डिल्लीराज शर्मालाई प्रहरीले चैत ४ गते जिल्ला अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।
राज्य विरूद्धको सङ्गठित अपराधको आरोपमा प्रहरीले ०७६ असोज ३० गते राजपुर गापा–४ बाट गिरफ्तार गरेका शर्मालाई दाङ जिल्ला अदालतले पुस १६ गते १५ हजार रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
पुनः गिरफ्तार हुने डरले धरौटी रकम नबुझाएर तुलसीपुर कारागारमा थुनामा रहेका शर्मालाई ०७६ पुस २८ गते सल्यान लगेर सार्वजनिक कसुर सम्बन्धि मुद्दा दर्ता गरेको थियो ।
प्यूठान जिल्ला अदालतले फागुन २८ गते ३० हजार रूपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएकोमा प्रहरीले प्रक्रिया मिलाउनु छ भन्दै गैर कानुनी ढङ्गले चार दिन जिल्ला कारागार सल्यानमा राखेर चैत ३ गते तुलसीपुर कारागार ल्याइएको थियो ।
शर्माका आफन्तले दाङ जिल्ला अदालतले तोकेको १५ हजार रूपियाँ धरौटी बुझाए लगत्तै प्रहरीले अदालतको गेटबाट पुनः गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय बर्दिया लगेको छ ।