तिलाठी कोइलाडी गाउँपालिका–८ की ३४ वर्षीया प्रमीलादेबी मण्डललाई उनका देवर ३२ वर्षीय रामकुमार मण्डल र निजकी पत्नी ३० वर्षीया सोनीतादेबी मण्डलले निर्घात कुटपिट गरेको भन्दै दिएको उजुरीमाथि प्रहरीले कारवाही नगरेको पीडित पक्षले आरोप लगाएका छन् ।
घटनाको १५ दिन बिते पनि जिल्ला प्रहरी कार्यालयले उजुरी लिन अस्विकार गरेको र कुनै कारवाही समेत नगरेको पीडितका पति सियाराम मण्डलले बताउनु भयो ।

घरमा बस्न नदिने उद्देश्यले दैनिक दुःख दिँदै आएका आरोपितहरूले फागुन १७ गते पीडितको कपाल समाती भुईमा घिसार्दै लात, मुक्का, लाठी लगायत फलामको रडले कुटपिट गर्दै घरमा रहेको नगद समेत लुटपाट गरेको पीडितले आरोप लगाउनु भयो ।
। पीडितको चैत २ गते गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारपछि आर्शिवाद हेल्थ केयर सेन्टर राजविराजमा थप उपचार भइरहेको छ । पीडितको टाउको, पिठ्यु, खुट्टालगायतमा चोटपटक लागेको छ ।

आरोपित रामकुमारले जेठानी र देउरानीबीच झगडा भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बाबुराम कार्कीले घटनास्थल पुगेर प्रहरीले स्थानीयवासीसँग घटनाबारेमा जानकारी लिइरहेको र आवश्यक अनुसन्धान गरिरहेको जनाउनु भएको छ । इन्स्पेक्टर कार्कीले दुबै पक्षबीच इलाका प्रहरी कार्यालय हनुमाननगरमा फागुन ३० गते गराइएको छलफलमा सहमति नभएपछि जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि बोलाइएको जानकारी दिनु भयो ।

