INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज अदालत परिसरबाट पुनः गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला इन्चार्ज बन्दिपुर गाउँपालिका घर भएका ४० वर्षीय पुर्णजित पुनलाई प्रहरीले फागुन २८ गते तनहुँ जिल्ला अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ ।

जनयुद्ध दिवसको पोष्टर टाँस्ने क्रममा म्याग्दे गाउँपालिका–३ जामुनेबाट माघ २८ गते राति गिरफ्तार हुनु भएका पुनलाई जिल्ला अदालतका न्यायधीश बासुदेव पौडेलको इजलासले फागुन २८ गते सामान्य तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

यस अघि फागुन २७ गते जिल्ला प्रशासन कार्यालय तनहुँले पुनलाई पाँच हजार रुपियाँ धरौटी लिई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । प्रहरीले पुनको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार सम्बन्धी र जिल्ला अदालतमा विस्फोटक पदार्थ र आगजनी सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

२०७६ साउन १५ गते राति घिरिङ गाउँपालिका–२ घुर्लीछापमा र गत पुस २६ गते राति भिमाद नपा–५ मिछुर्लुङमा भएको एनसेलको टावर आगजनीको घटनामा पुनलाई दोसी देखाइएको थियो । सोही मुद्दामा अदालतले पुनलाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

पुनसँगै गिरफ्तार भएका सो पार्टीको विद्यार्थी संगठनका कार्यकर्ता पर्वत सेढाई जिल्ला प्रशासनको आदेश पछि पाँच हजार रुपियाँ धरौटी बुझाएर फागुन २७ गते नै रिहा भइसकेका छन् । अदालतले सामान्य तारेखमा रिहा गर्ने आदेश दिए पनि प्रहरीले उनलाई पनुः गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय लगेको थियो ।

उनलाई बिहिबार गोरखा पठाइने प्रहरीले जनाएको छ । गोरखामा पनि पुनको विरुद्धमा विभिन्न मुद्दा रहेको कारण उनलाई गोरखा पठाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

अन्य

भिडियो