काभ्रेको रोशी गाउँपालिका–२ का बिलबहादुर कार्की साढे तीन वर्षदेखि जिल्ला कारागार धुलिखेलमा कैद भुक्तानी गरिरहनु भएको छ ।
‘सुरुको ६ महिना दिन कटाउन निकै मुस्किल परेपछि उहाँले अरु कैदीहरूसँग मुढा बनाउने सिप सिक्नुभयो । ‘अहिले मुढा बनाउँछु, दिन कटाउन निकै सजिलो भएको छ’ कार्कीले भन्नुभयो ।
मुढा बनाएर मासिक ४ हजारदेखि ४ हजार ५ सयसम्म कमाउने गरेको उहाँले सुनाउनु भयो । ‘घरमा पैसा माग्नुपर्ने अवस्था छैन्, मिठो, मसिनो खाना, मन परेको कपडा लगाउन यहिको आम्दानीले धानेको छ, कार्कीले भन्नुभयो । कैदी जीवन भुक्तानपछि यहि सिपबाट आम्दानी गर्न सकिन्छ भन्ने सोचेको उहाँले बताउनुभयो ।
धुलिखेल काराकारमै रहेका सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–१ का पुर्ण थामीले थुन्चे बुनेर मासिक ३ हजार ५ सय देखि ४ हजारसम्म कमाउने गरेको बताउनु भयो ।
‘पहिला मलाई थुन्चे बुन्न आउँदैन थियो,यहिँ आएर सिके’ उहाँले भन्नुभयो ‘सिप सिकेको दिनदेखि दैनिक खर्च घरपरिवारसँग माग्नु परेको छैन् ।’ उहाँले कारागारको आम्दानीले सजिलो भएको बताउनु भयो ।
जेलर जङ्गबहादुर राईका अनुसार अहिले जिल्ला कारागार धुलिखेलमा ७३ जना थुनुवा र १ सय ६० जना कैदी बन्दी छन् । त्यस मध्ये ५० जनाले मुढा र थुन्चे बनाउँछन भने १० जनाले माला (पोते) बुन्छन् । दुई जनाले सिरक, डस्ना बनाउने काम गदै आएका छन् ।
‘यो एउटा सुधार गृह हो, जेलर राईले भन्नुभयो ‘धेरै जनाले यहि आएपछि सिप सिक्नुभएको छ, आम्दानी पनि गरिरहनु भएको छ ।’ कैदीबन्दीले बनाएका सामान बलियो हुने भएकाले माग पनि बढी नै भएको उहाँले बताउनु भयो ।
सामाग्री उत्पादनका लागि चाँहिने आवश्यक कच्चा पदार्थ कारागारका नाइके राजन थापाले व्यवस्थापन गर्नुहुन्छ । बाँस, निगालो, टायर जस्ता कच्चा पदार्थ बाहिरबाट ल्याउने गरेको उहाँले बताउनु भयो । कारागारबाट दैनिक १० देखि १५ ओटा थुन्चे, मुढा उत्पादन हुने गरेको नाइके थापाले बताउनु भयो । ‘कहिले काँहि कच्चा पद्धार्थ नपाउँदा भने समस्या हुन्छ’ उहाँले भन्नुभयो ।
