रामेछापका ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक सम्बन्धी ऐन कागजमा मात्रै सिमित भएको गुनासो गरेका छन् । मन्थली नगरपालिकाले मन्थलीमा आयोजना गरेको ज्येष्ठ नागरिक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले सो गुनासो गरेका हुन् ।
उनीहरूले ज्येष्ठ नागरिकको लागि आएको बजेट अन्य ठाउँमा खर्च गरिने गरेको गुनासो गरे । कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ रामेछापका अध्यक्ष नारायण दास श्रेष्ठले जिल्लामा करीव २८ हजार ५ सयभन्दा बढी ज्येष्ठ नागरिक रहेकोमा ५ हजार ८ सय १३ जनाभन्दा बढि मन्थली नगरपालिका भित्रै रहेको बताउनु भयो ।
श्रेष्ठले सार्वजनिक यातयातको आरक्षण सिटमा अरु नै बसि दिने गरेको गुनासो गर्नु भयो । सरकारले यातायातमा दिने ५० प्रतिशत भाडा छुट समेत नपाएको उनीहरूको गुनासो थियो । औषधि उपचारमा दिएको छुट समेत भौगोलिक कारण सबै ठाउँमा प्रर्याप्त औषधि नहुँदा सेवा लिन कठिन भएको उनीहरूले बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले ज्येष्ठ नागरिकका गुनासो सम्बोधन गर्न नगरपालिकाले प्रयत्न गर्ने बताउनु भयो । उहाँले सिमित साधन र श्रोतका कारण सोचे जस्तो काम गर्न नसकेको भए पनि अब क्रमश समस्या सम्बोधन गर्दै जाने बताउनु भयो ।