INSEC Online

📅 २०८३ जेष्ठ २१

६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न चेतानामूलक कार्यक्रमको आयोजना गरी देशैभर मनाइएको छ । मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले मङ्सिर २५ गते विभिन्न कार्यक्रमको आयोजना गरी मानव अधिकार दिवस मनाएका हुन् ।

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार मानव अधिकार दिवसको अवसरमा आज जिल्लामा मानव अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिको छ ।

photo20161210dhading

इन्सेकद्वारा प्रकाशित मानव अधिकार वर्षपुस्तकमा मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्दै गएको तथा मानव अधिकार रक्षकहरूमाथि डर धम्कीका घटना समेत आइरहेको सन्दर्भमा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले वर्षभरी सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना तथा अघिल्ला दुई वर्षको तथ्याङ्कहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सचिव हरेराम बुर्लाकोटी, नेकपा एमालेका कार्यालय सचिव प्रेम सिलवाल, नेपाल मानवअधिकार सङ्गठनका केन्द्रीय सदस्य कृष्ण दहाल, जिल्ला अदालतका गोविन्द तिवारी, दलित सेवा सङ्घका अध्यक्ष श्याम मगराती, राजु रेग्मी, आवाज अभियान नेपालका अध्यक्ष केशव दुवाडी, दलित समाज कल्याण सङ्घका अध्यक्ष बेगबहादुर सुनार, प्रयास नेपालका उपाध्यक्ष सविता अर्याल, महिला सचेतना केन्द्रका अध्यक्ष जानुका सिम्खडा, बाल क्लबका विश्वास ढुङ्गाना, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष दामोदर अर्याललगायतले मानव अधिकारको घटनामा दोषीलाई कारबाही गर्न माग गर्दै मानव अधिकारप्रति प्रतिबद्धता जनाएका थिए ।

photo20161210dhading1

इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार ‘अरुको अधिकारको लागि उभौँ’ भन्ने मुल नाराका साथ मानव अधिकारका क्षेत्रमा कार्यरत सङ्घसस्थाहरूले संयुक्त रूपमा ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । मानव अधिकार दिवसको अवसरमा आज जनकपुरमा प्रभातफेरी र्‍यालीको आयोजना समेत गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुर, मानव अधिकार नेटवर्क र मानव अधिकार रक्षक सञ्जाल, अनौपचारिक सेवा केन्द्र (इन्सेक)को संयुक्त व्यानरमा निस्केको प्रभातफेरी र्‍यालीमा नेपाल पत्रकार महासङ्घ, थर्ड एलायन्स, जिल्ला महिला अधिकार सरोकार समूह, डिएमआरसी, जागरण नेपाल, नेपाल परिवार नियोजन सङ्घ, दलित सेवा समाज, निलहिरा समाज, उत्थान, योपेड, सपोर्ट नेपाल, नेपाल मानव अधिकार सङ्घ, मासम, लियो क्लव मोनाष्टिक र एमनेष्टि इन्टरनेशनललगायत दुई दर्जन सङ्घसंस्थाको सहभागिता थियो ।

जनकपुरको जानकी मन्दिरबाट निस्केको र्‍याली देवीचोक, मिल्सएरिया, भानु चोक, शिव चोक, जनक चोक हुँदै पुनः जानकी मन्दिर परिसरमा पुगेर समापन गरिएको थियो । यसैगरी जनकपुरको जनक चोकमा साँझ ५ बजे दिप प्रज्जवलन गरी मानव अधिकार दिवस मनाइएको छ ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कास्कीमा विविध कार्यक्रमको आयोजना गरी मानव अधिकार दिवस मनाइएको छ ।

photo20161210kaski1

मानव अधिकार दिवसको अवसरमा मानव अधिकार महाभेला मुल आयोजक समिति कास्की र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलयको आयोजनामा मङ्सिर २५ गते बिहान पोखरामा प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा मानव अधिकार रक्षक, सुरक्षा निकायका प्रतिनिधि, प्रशासनिक कार्यालयका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

प्रभातफेरी पश्चात् मानव अधिकारको रक्षा र सम्बर्द्धनका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । एक कार्यक्रमकाबिच वरिष्ठ अधिवक्ता एवम् शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका पूर्व संयोजक रामप्रसाद घिमिरे र अधिकारकर्मी निर्मला गुरुङलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

photo20161210kaski

सम्मान कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले मानव अधिकारको संरक्षण र प्रत्याभूति राज्यको दायित्व भएको बताउँदै अधिकारसँगै कर्तव्य पनि जोडिएर आउने हुँदा राज्यप्रतिको कर्तव्य पनि भुल्न नहुने बताए ।

यसैगरी ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै अवसरमा कास्कीमा दिप प्रज्वलन कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिताकोसमेत आयोजना गरिएको थियो ।

इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार राष्ट्रिय मानव अधिकार आयोगको संयोजन तथा मानव अधिकार दिवस मूल आयोजक समिति, कैलालीको संयुक्त आयोजनामा अर्काको अधिकारको लागि आजैदेखि प्रण गरौँ भन्ने मूल नाराका साथ प्रभातफेरी तथा अन्तर सम्वाद कार्यक्रम गरिएको छ ।

photo20161210dhangadhi

धनगढीको क्याम्पस रोडदेखि सुरु भएको प्रभातफेरीमा सहायक विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले मानव अधिकारको संरक्षण, सम्बर्द्धन र परिपूर्ति राज्यले गर्ने भएता पनि नागरिकहरूले पनि मानव अधिकारको संरक्षणमा आफ्नो दायित्व भूल्न नहुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला खाद्य अधिकार सञ्जाल, कैलालीको तर्फबाट सञ्जालका धनपती ढुङगेलले खाद्य अधिकार मानव अधिकारको मुख्य विषय बस्तु भएको र कैलाली जिल्लामा पनि खाद्य सङ्कट बढ्दै आएकोले यसतर्फराज्यको ध्यानाकर्षण गर्न जिल्लाका समस्याहरू समावेश गरिएको ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई हस्तान्तरण गरेका थिए ।

उनले ज्ञापन पत्रमा उल्लेखित समस्या समाधान गर्न आफ्नो तर्फबाट भरपुर प्रयास रहने प्रतिबद्धता जाहेर गर्दै राज्य मानव अधिकारको सम्मान र परिपूर्ति गर्न सदैव अग्रसर हुने विचार राखे ।

इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार मानव अधिकार दिवसको अवसरमा मङ्सिर २५ गते आयोजित कार्यक्रममा उदयपुरकी अधिकारकर्मी हरिमाया साहीलाई सम्मान गरिएको छ । शनिबार स्थानीय शान्ति समितिको सभाहलमा आयोजित कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालले मानव अधिकारको क्षेत्रमा साहीले पुर्‍याएको योगदानको चर्चा गर्दै सम्मान गरिएको बताइएको छ ।

उषाकिरण वहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्ष रहेकी साहीले ग्रामीण क्षेत्रमा महिला र मानव अधिकारको क्षेत्रमा विशिष्ट योगदान गरेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीले विधिको शासन पालन भए मात्र सबैको अधिकार सुनिश्चित हुने बताए । उनले संविधान जारी भइसकेको अवस्थामा कार्यान्वनतर्फ सबैको साथ सहयोग हुनु पर्ने बताए ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा आयोजित एक कार्यक्रममा शैक्षिक विकास र आर्थिक समृद्धि विना मानव अधिकारको पूर्ण पालना नहुनेमा सरोकारवालाले जोड दिएका छन् ।

photo20161210gulmi

समाजमा गरिबी रहँदा सम्म कुनै न कुनै हिसावले मानिसको मानव अधिकार हनन् भइरहने भएकाले आर्थिक विकास र शैक्षिक विकासमा राज्यको ध्यान पुग्नुपर्नेमा सहभागी वक्ताहरूले जोड दिएका हुन् ।

६८ औँ विश्व मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला मानव अधिकार प्रवर्धन समितिले राखेको अन्तरक्रियामा बोल्दै नागरिक समाजका अगुवा गुणनिधी शर्माले देशमा १०/१० वर्षमा आन्दोलन हुने र उपलब्धि गुम्ने प्रवृत्ति रहेकाले पनि नागरिकका अधिकार स्थापित हुने र गुम्ने गरेको बताए । साथै उनले संविधानको सही कार्यान्वयन नभएसम्म यो खतरा रहिरहने कुरा औँल्याएका थिए ।

महिला अधिकारकर्मी विष्णु सापकोटाले महिलाहरू घरकै काममा बाँधिनुपर्ने बाध्यताले महिला हिंसा तथा घरेलु हिंसाका घटना समाजमै लुकीछिपी रहिरहेको बताइन् । उनले राज्यले महिलाका निम्ति दिएका हक र अधिकार पनि प्रचार प्रसारको अभाव र महिलाहरूमा रहेको अज्ञानताका कारण प्रभावितसम्म नपुग्ने गरेको बताइन् ।

गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष विष्णु भण्डारीले राजनीतिक दलका प्रमुखले हक र अधिकारका बारेमा चर्का नारा लगाउने तर बलात्कारीलाईसमेत राजनीतिक आस्थाका आधारमा उन्मुक्ति दिन शक्तिको दुरुपयोग गर्ने गरेकाले यस्ता दिवसहरूको सान्दर्भिकता हराउँदै गएको बताए ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार अन्तर्राष्ट्रिय मानव अधिकार दिवस रोल्पामा पनि मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पा, हुरेक रोल्पा, हरप्लेस रोल्पा र सेभ द चिल्ड्रेनको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले कुनै बेला जिल्लामा मानव अधिकारसम्बन्धी गतिविधि गर्दा असहयोग गर्ने रोल्पा प्रहरीले अहिले मानव अधिकारको रक्षामा अगुवाई गरेकोले मानव अधिकार रक्षा हुने आशा व्यक्त गरेका थिए ।

photo20161210rolpa

देशमा दोस्रो जनआन्दोलन पछि मानव अधिकारको क्षेत्रमा केही उपलब्धि भएको अधिकारकर्मी घनश्याम आचार्यले बताए । विगतका वर्षहरूमा मानव अधिकारका विषयमा हुने गतिविधिमा प्रहरीले असहयोग गर्ने गरेको भएपनि अहिले भने आफै अगुवाइ गर्ने गरेको आचार्यको आरोप छ ।

जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले विगतका वर्षहरूमा जे-जस्तो भएपनि अबदेखि सबैले मानव अधिकारको रक्षा गर्नु सबैको कर्तव्य रहेको बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले नेपाल मानव अधिकार चौथो कार्ययोजना कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा लाग्न सबै समक्ष आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी रामप्रसाद घर्तीले मानव अधिकारको मर्मलाई परिपालना गर्न आफूहरू लागिरहेको बताए ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार इन्सेकलगायत मानव अधिकारका क्षेत्रमा क्रियाशील २५ ओटा सङ्घसंस्थाहरूको साझा सङ्गठन जवाफदेहीता निगरानी समिति कपिलवस्तुको आयोजनामा ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

photo20161210kapilvastu

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले राज्यले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा  हस्ताक्षर गरेको र नेपालको संविधानको धारा १६ देखि ४८ सम्म उल्लेखित मौलिक हकमा व्यवस्था गरिएको हक उपभोग गर्न पाउनु नागरिकको मानव अधिकार भएको बताए ।

प्रजिअ ढकालले राज्यले कानुन बनाएर मौलिकहकहरू क्रमश लागु हुँदै जाने बताए । कपिलवस्तु जिल्लामा महिला हिंसा विरुद्धका घटनामा प्रहरीले मिलापत्र गराउने गरेको गुनासो आएको भन्दै न्यायमा बाधा पुग्ने गरी त्यस्तो काम गर्न गराउन नपाइने भएकाले सम्बन्धित अधिकारीलाई ढकालले निर्देशन दिए ।

प्रजिअ ढकालले विभिन्न ब्यक्तिहरुले राखेका जिज्ञासाहरूमा जबाफ दिँदै सबै घटनाको विषयमा आफू गम्भीर भएको भन्दै यस्ता घटनाका दोषीलाई कारबाही अगाडि बढाउने तथा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

शिक्षा स्वास्थ्य कृषिलगायतका सेवा प्रवाहको विषयमा नागरिकहरूले पाउने सेवा सुविधा कतै उपभोग गर्न नपाएको भए सम्बन्धित कार्यालयको अनुगमन गरी कार्यान्वयनका लागि पहल गर्ने हलबाटै  प्रतिबद्धता जनाएका थिए ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्त्यमा रुपन्देहीमा विभिन्न सङ्घसंस्थाको आयोजनामा बृहत र्‍याली प्रदर्शन गरिएको छ ।

photo20161210rupandehi

‘घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार, घर शान्ति नै विश्व शान्तिको आधार, दीगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने मुल नारा’ सहित भैरहवाको बुद्धचोकबाट प्रमुख जिल्ला अधिकारी विनोदकुमार सिंहले र्‍यालीको सुरुवाती गरेका थिए ।

बृहद र्‍याली भैरहवाका विभिन्न स्थानहरू बर्मेलीटोल, मिलनचोक हुँदै भैरहवा बजार परिक्रमा गरेर देवकोटा चोकमा गएर कोणसभामा परिणत गरिएको थियो ।

कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको संयोजकत्वमा इन्सेक, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला विकास समिति, माहुरी होम, काहुराष्ट, माइती नेपाल, नमूना एकीकृत, सिर्द्धार्थ सामाजिक, सिविन, कदम नेपाल, रेडियो मुक्तिलगायतका संस्थाहरूको सहकार्य रहेको थियो ।

photo20161210rupandehi1

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख जिल्ला अधिकारी विनोदकुमार सिंहले मानव अधिकारको संरक्षण गर्ने पहिलो जिम्मेवारी राज्यको भएपनि नागरिकको पनि मानव अधिकार संरक्षणमा उत्तिकै भूमिका रहने बताए । उनले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि आर्थिक सशक्तिकरणलाई जोड दिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत कल्पना नेपालले मानव अधिकार संरक्षणका लागि सबै एक जुट भएर लाग्नु पर्ने बताइन् । उनले मानवको सम्मान, संरक्षण र परिपूर्ति जस्ता कुराहरूलाई राज्यले ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा निल हीरा समाजका यानिक रानाले तेस्रो लिङ्गिहरूलाई राज्यले विभेद गरेको भन्दै तेस्रो लिङ्गिलाई हेर्ने चस्मा बदल्नुपर्ने बताइन् । उनले तेस्रो लिङ्गिलाई हेर्ने दृष्टिकोण बदल्न आग्रहसमेत गरिन् ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस राजविराजमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

photo20161210saptari

लैङ्गिक हिंसा निवारण जिल्ला सञ्जाल संयोजन समितिको अगुवाइमा मानव अधिकारका क्षेत्रमा काम गरिरहेका इन्सेकलगायत विभिन्न सङ्घ-संस्थाले मानव अधिकारको रक्षा गर्न माग गर्दै व्यानर र प्लेकार्डसहित र्‍याली निकालेर नगरपरिक्रमा गरेका छन् । र्‍यालीमा सरकारी तथा गैरसरकारी मानव अधिकारकर्मी सङ्घसंस्थाहरूसहित नेपाल प्रहरी सहभागी थिए ।

र्‍यालीपछि जिल्ला विकास समितिमा आयोजित कार्यक्रममा वक्ताहरूले मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रतिबद्धतामा नेपालले हस्ताक्षर गरेको लामो समय भएपनि मानव अधिकारको अवस्था सुधारोन्मूख नभएको औँल्याए ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सन् २०१६ मा सङ्कलन गरिएका मानव अधिकार हनन् तथा ज्यादतीका घटनाका बारेमा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

यसैगरी नेपाल मानव अधिकार सङ्गठन सप्तरीको आयोजनामा स्टार होटलमा सम्पन्न विचार गोष्ठिमा नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष एवम् सांसद अनिल झाले सरकारले दर्ता गरेको संशोधन प्रस्ताव आंशिक रूपमा सकारात्मक रहेकोले पारित गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्याल, पूर्व मन्त्री रामकुमार चौधरी, नेपाली काङ्ग्रेस सप्तरीका सभापति दिनेश यादवलगायत शिक्षक, प्राध्यापक, पत्रकारहरूको उपस्थिति रहेको थियो ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहा स्थित मानव अधिकार संरक्षण केन्द्र सञ्जाल र महिला मानव अधिकार रक्षक सञ्जालले सिरहाको लहानमा मङ्सिर २५ गते  “सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार” मूल नाराका साथ ६८ औं विश्व मानव अधिकार दिवस र्‍याली, अन्तरक्रिया तथा सम्मान कार्यक्रमसहित सम्पन्न गरेको छ ।

photo20161210siraha

सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले राज्यले मानव अधिकारको संरक्षण र प्रवर्धन गर्ने हुँदा आफू जिल्लामा बसुञ्जेल मानव अधिकारको संरक्षण र प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गर्ने बताए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले प्रहरीको निकायबाट मानव अधिकार उल्लङ्घन हुन नदिने प्रतिबद्धता गरेका थिए । उनले नागरिक समाज र सरोकारवाला निकायहरूसँग हातेमालो गरी समाजमा सचेतना फैलाउन सहकार्य गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

इन्सेक, ओरेक, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण युवा क्लब, इह्रिकन, आरआरएन, मुक्ति नेपाल, सहयोगी हातहरू, अपाङ्ग पुनर्स्थापना केन्द्र, समग्र विकास सेवा केन्द्र, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, थर्ड एलाइन्स, अपसन नेपाल, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहानलगायत सङ्घसंस्थाको सहकार्यमा सञ्चालित कार्यक्रममा मानव अधिकारको क्षेत्रमा क्रियाशील भई कार्य गरेका तीन जनालाई दोसल्ला ओढाइ प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले सम्मान गरेका थिए । उनले इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारलाई सम्मान गरेका थिए ।

कार्यक्रममा अधिकारकर्मी, सञ्चारकर्मी सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले रक्तदानसमेत गरेका थिए ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, एडभोकेसी फोरम लगायतका सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा मङ्सिर २५ गते महेन्द्रनगरमा विविध कार्यक्रमका साथ मानव अधिकार दिवस सम्पन्न भएको छ ।

photo20161210kanchanpur

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर महेन्द्रनगरको मदन चोकदेखि र्‍याली सुरु गरी बजारको परिक्रमा गर्दे दशरथचन्द चोक पुगेको थियो । मदनचोकमा पुगेपछि जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश चन्दले मानव अधिकार संरक्षण र सम्बर्द्धनमा सबैलाई लाग्न अनुरोध गर्दै र्‍यालीको समापन गरेका थिए ।

यसैगरी मानव अधिकार निगरानी समूहले महेन्द्रनगरको मदन चोकमा आज साँझ दिप प्रज्वलन गरेको थियो ।

इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार ६८ औँ विश्व मानव अधिकार दिवस मनाइरहँदा नागरिकको अधिकार रक्षाका लागि नेपालको पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दै गरेको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

photo20161210ilam

मानव अधिकार मञ्च नेपाल, इलामले हरेक वर्षप्रदान गर्ने पूर्वाञ्चल स्तरीय मानव अधिकार पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका सहभागीले अहिले पनि मानव अधिकार रक्षाको ठूलो चुनौती राज्यसँगै भएको उल्लेख गर्दै नेपाल र नेपालीको भाग्य र भविष्य कोर्न अबको सञ्चार जगत र अहिलेको युवा पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिए ।

पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारीले नेपालको इतिहासमा मानव अधिकार हनन् भएको डरलाग्दो इतिहास देशमा गणतन्त्र स्थापना भएपछि रहेको बताए ।

‘नेपालमा गणतन्त्र स्थापना भएपछि सबै भन्दा बढी नागरिकका अधिकारहरू हनन् भएको र जस्तो सुकै परिस्थितिमा र्सवसाधारण नागरिकले बाँच्न बाध्य हुनुपरेको छ ।’ भण्डारीले भने-‘विगतको सशस्त्र द्वन्द्वपछि नेपालीले लडेर ल्याएको वर्तमान परिवेश र सत्तासिन दलहरूले देखाएको चरित्रका कारण यो समय सबैभन्दा दर्दनाक रूपमा उभिएको छ ।’ पत्रकारहरूले मानव अधिकार रक्षाका लागि आफ्नो कलममा कुनै पनि राजनीतिक रङ मिसाउन नहुनेमा उनको जोड छ ।

कार्यक्रममा पुनरावेदन उच्च अदालत विराटनगर, इलाम इजलाशका न्यायाधीश रमेशबहादुर थापाले जहिले पनि न्यायालय मानव अधिकार रक्षाकै पक्षमा उभिएको बताए । थापाले विगतमा द्वन्द्व र आन्दोलनहरूमा भएका मानव अधिकारसम्बन्धी मुद्दाहरूको फैसला गर्दा न्यायलय नागरिकको रक्षाकै पक्षमा उभिएको उनको भनाइ थियो ।

इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले मानव अधिकार रक्षाका लागि सञ्चार जगत सधैँ संवेदनशील रहनु पर्ने भन्दै राज्यका तर्फबाट भएका मानव अधिकार हनन्का घटनाहरू प्रति पत्रकारलाई निर्धक्क भएर लेख्न र राज्यलाई सचेत गराउन आग्रह गरे ।

कार्यक्रममा मानव अधिकार रक्षक परिषद पूर्वाञ्चलका महासचिव प्रकाश अधिकारीले नागरिकको अधिकार र नागरिकले निर्वाह गर्नुपर्ने कतर्व्यलाई सँगसँगै लानुपर्ने बताए ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार सरोकारवालाहरूले घरभित्रै हुने मानव अधिकार हनन्लाई रोक्न सके नागरिकले मानव अधिकारको प्रत्याभूति गर्न सक्ने वातावरण सिर्जना हुने बताएका छन ।

६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार सञ्जाल दाङले घोराहीमा मङ्सिर २५ गते गरेको वृहद अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले मानव अधिकार हनन्को सुरुवात घरभित्रैबाट हुने भन्दै त्यसको अन्त्य गर्न हरेक व्यक्ति सजग हुनुपर्ने बताए ।

photo20161210dang

उनीहरूले आफनो अधिकार खोज्दा अरुको अधिकारको ख्याल गर्नुपर्नेमा पनि जोड दिएका थिए । सरोकारवालाले नीतिगत रूपमा नागरिकका न्यूनतम अधिकारको सुनिश्चितता गरिएपनि व्यवहारिक रूपमा अनुभुत गर्ने खालको वातावरण अझै भइनसकेकोप्रति चिन्ता व्यक्त गर्दै सबैले कर्तव्यको पालना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले नागरिक अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्ने भन्दै त्यसका लागि स्वयम् नागरिकको भूमिका समेत महत्वपूर्ण हुने बताए । ‘न्यूनतम मानवअधिकारको रक्षा गर्ने भनेको राज्यले नै हो ।’-न्यायाधीश खड्काले भने-‘तर, राज्य एक्लैले यो पूरा गर्न सम्भव देखिएन । त्यसमा आम नागरिकको सहयोग आवश्यक छ ।’

यसैबिच घोराही नगरपालिकाले मानव अधिकार दिवसकै अवसरमा मङ्सिर २५ गते घोराहीमा एक कार्यक्रमको आयोजना गरी हिंसा प्रभावितहरूको संस्था सक्षम महिला सामुदायिक संस्थालाई आयआर्जनका लागि नगद २० हजार रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको नगरपालिकाका सामाजिक विकास अधिकृत सुवोध रेग्मीले जानकारी दिए ।

मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार ६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २५ मोरङका दुईजना मानव अधिकारकर्मीलाई सम्मान गरिएको छ । राष्ट्रिय मानव अधिकार आायोग क्षेत्रीय कार्यालय विराटनगर र पूर्वाञ्चल मानव अधिकार सञ्जालद्वारा विराटनगरमा आयोजित कार्यक्रममा मानव अधिकारको क्षेत्रमा लामो सयमदेखि काम गर्दै आएका डिक घिमिरे र सिता शर्मालाई सम्मान गरिएको हो ।

photo20161210morang

सम्मान गर्ने कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजवहादुर केसीले लोकतन्त्रमा कसैको पनि मानव अधिकार हनन् हुन नहुने बताए ।

विश्व मानव अधिकार दिवसकै अवसरमा विराटनगरमा न्यायिक निकाय, प्रशासनिक निकाय, प्रहरी, सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागितामा बृहद र्‍याली समेत निकालिएको थियो ।

धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा मङ्सिर २५ गते धनकुटामा आयोजित कार्यक्रमका सहभागीहरूले महिलामाथि हुने घरेलु हिंसा अन्त्यको लागि सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

photo20161210dhankuta

हुसाडेक नेपालद्वारा आयोजित संविधानमा मानव अधिकार र लैङ्गिक सवाल विषयक अन्तरक्रियामा सहभागीहरूले महिला हिंसाका घटनाहरू दिन प्रतिदिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरणको लागि गाउँगाउँमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

महिलामाथि हुने घरेलु हिंसाका घटना न्यूनीकरण नभएसम्म मानव अधिकारको प्रत्याभूति गर्न नसकिने बताउँदै सहभागीहरूले त्यसको कारण पत्ता लगाएर सोही अनुसारको अभियान सञ्चालन गर्न सुझावसमेत दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले महिला हिंसा अन्त्य आफ्नो घरैबाट सुरु गर्नुपर्ने बताउँदै यो अभियानमा सबैलाई जुट्न आग्रह गरे ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार पाल्पामा क्रियाशील मानव अधिकार रक्षक र नागरिक समाजका अगुवाहरूले जिल्ला स्तरमा मानव अधिकार रक्षकहरूले स्वतः स्फुर्त काम गर्न नपाएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिएको अर्न्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले अझै पनि विभिन्न बाहनामा मानव अधिकार रक्षकहरूलाई काम गर्ने वातावरण नभएको बताए ।

अधिकांश राजनीतिक दल र स्थानीय अगुवाहरूमा समेत मानव अधिकार क्षेत्रबारेको बुझाइ कमजोर रहेको उनीहरूको भनाइ छ । कार्यक्रममा पत्रकार माधव अर्यालले पाल्पाको मानव अधिकारको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय दार्चुलाले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्ला कारागारमै पुगेर कैदीबन्दीलाई भलिवल खेलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले उपलब्ध गराएको भलिवललाई प्रमुख जिल्ला अधिकारी जोशीले कारागारका चौकीदार अमर महरालाई हस्तान्तरण गरेका हुन् ।

खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जोशीले कारागार भन्दा पनि सुधार गृहको रूपमा विकास गर्ने काम भइरहेको बताए । हाल जिल्ला कारागारमा ३९ जना कैदी तीन जना बन्दी गरी ४२ जना कैदी बन्दी रहेका छन् । जसमा एक जना महिला कैदी रहेकी छन् ।

इन्सेक प्युठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तिम दिन तथा ६८ औँ विश्व मानव अधिकार दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयमा १६ दिन सम्म जिल्लामा सरकारी तथा गैरसरकारी कार्यालयहरूले गरेका लैङ्गिक हिंसा विरुद्धका गतिविधिहरूको समीक्षा गरी साँझ ५ बजे सदरमुकामको पाटी चोकमा ६८ ओटा मैनबत्ती बालेर मानव अधिकार दिवस मनाइएको हो ।

photo20161210pyuthan

सो कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, हरप्लेस, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), जिल्ला स्तरीय मानव अधिकार सञ्जाल र जिल्ला बार एसोसिएशनले संयुक्त रूपमा गरेका थिए ।

इन्सेक काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार इन्सेक, गैसस महासङ्घ र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकद्वारा ६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा धुलिखेलमा र्‍याली र कोणसभाको आयोजना गरियो ।

photo20161210kavre

धुलिखेलको सरस्वती बजारबाट दिँउसो निस्किएको र्‍याली ६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सफल पारौं, हाम्रो आवाज हाम्रो सहभागिता र विकासमा आधारित हाम्रो समावेशिता, सबैका लागि घर-घरमा मानव अधिकार र Stand up for someone’s right today लेखिएका प्लेकार्ड बोकेर नारा लगाउँदै जिल्ला प्रहरी कार्यालय परिसरमा गएर सभामा परिणत भएको थियो ।

photo20161210kavre1

कोणसभामा जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनराज राई, इन्सेकका प्रतिनिधि भोजराज तिमल्सिना र गैसस महासङ्घका टोम सापकोटाले मानव अधिकारका विभिन्न विषयमा जानकारी दिएका थिए ।

अन्य

भिडियो