INSEC Online

📅 २०८३ जेष्ठ २१

नगर प्रमुखमाथि दुर्व्यवहारका आरोपितहरुको रिहाईको माग गर्दै काँग्रेसद्वारा प्रदर्शन

डाकनेश्वरी नगरपालिका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुर्व्यवहार र कर्मचारीहरुमाथि भएको हातपातको आरोपमा गिरफ्तार तीन युवाको रिहाइको माग गर्दै नेपाली काँग्रेस सप्तरीले माघ २७ गते राजविराजमा विरोध प्रदर्शन गरेको छ ।

photo20200211saptari (1)

नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा निस्केको जुलुसले पक्राउ परेका डाकनेश्वरी नपा– ३ का ४० वर्षीय राजीवकुमार राय, डाकनेश्वरी नपा–५ का ३२ वर्षीय अमरेन्द्रकुमार यादव र डाकनेश्वरी नपा–७ का २६ वर्षीय अर्जुनकुमार यादवको रिहाईको माग गर्दै प्रदर्शन गरेको हो । कांग्रेस नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन पश्चात सहिद दशन चोकमा कोणसभा गर्दै स्थानीय प्रशासनले झुठा मुद्दामा फसाएको दावी गरेको छ ।

घटनास्थलबाटै माघ २१ गते गिरफ्तार राजीव, अमरेन्द्र र अर्जुनसहित डाक्नेश्वरी नपा– ५ का ४५ वर्षीय महेश्वरप्रसाद यादव र वडा नम्बर ७ का ३० वर्षीय गजेन्द्रप्रसाद साहविरुद्ध जिल्ला प्रहरी कार्यालयले माघ २३ गते अभद्र व्यवहारको उजुरी दर्ता गरी कारवाही थालेको थियो । महेश्वर र गजेन्द्र हालसम्म गिरफ्तार नभएको डिएसपी तिलक भारतीले बताउनु भएको छ ।

photo20200211saptari (2)

नगर प्रमुख साहमाथि दुर्व्यवहार र हातपात गर्ने आरोपितहरुमाथि कारवाही नभएसम्म जिल्लाका सबै स्थानीय तह अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गर्दै माघ २३ गते जिल्लाका १८ ओटै स्थानीय तह बन्द गरिएको थियो । प्रहरीले सोही दिन पाँच जनाविरुद्ध अभद्र व्यवहारको उजुरी दर्ता गर्दै कारवाही अगाडि बढाएको थियो ।

डाकनेश्वरी नपा–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा सहभागी हुन कर्मचारीसहित गाडीमा गइरहेका बेला आरोपितहरुको समूहले घेरा हाली दुर्व्यवहार गर्दै कर्मचारीहरुमाथि हातपात गरेको नगर प्रमुख साहको आरोप छ ।

photo20200211saptari (3)

कांग्रेस सप्तरीका सभापति दिनेश यादवले भने अनियमितता र भ्रष्टाचारको विरोध गर्दा युवाहरुलाई झुठा मुद्दा लगाएर फसाइएको दावी गर्नु भएको छ । युवाहरुलाई रिहा नगरिए आन्दोलन थप सशक्त बनाउने उहाँले चेतावनी दिनु भएको छ ।

अन्य

भिडियो