INSEC Online

📅 २०८३ जेष्ठ २२

हत्या घटनाका चार आरोपितलाई गिरफ्तारपछि सार्वजानिक

औरही नपा–२ बस्ने २२ वर्षीया चिन्तामणी कुमारी पासवानलाई परिवारजनले हत्या गरेको आरोपमा माघ २० गते धनुषा प्रहरीले चार जनालाई गिरफ्तार गरी सार्वजानिक गरेको छ ।

photo20200204dhanusha
माघ १८ गते साँझ ७ बजे मोबाइल मेमोरी कार्डको लागि भएको घरायसी विवादको क्रममा पत्नी चिन्तामणी कुमारी पासवानलाई कुटपिट गर्दै हत्या गरेको आरोपमा ३० वर्षीय पति अनिल कुमार पासवान, ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीया सासु कुमला देवी पासवान र २० वर्षीय नन्द पुनिता पासवानलाई प्रहरीले गिरफ्तार गरि माघ २० गते सार्वजानिक गरेको छ ।
माघ १८ गते साँझ ७ बजे निर्घात रुपमा कुटपिट गर्दै घाँटी थिचेर हत्या गरेको र मृतकले पासो लगाएर मरेको भन्दै अटो रिक्सामा राखेर प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि इमरजेन्सी वार्डमा भर्ना गराएको प्रहरीले बताएको छ ।
अस्पतालमा चिन्तामणीलाई राखेर फरार भएकी सासु कुमला देवी र नन्द पुनिता पासवानलाई प्रहरीले जनकपुरधाम–४ पेठीया बजारबाट माघ १९ गते साँझ ५ बजे गिरफ्तार गरेको थियो ।
घटनापछि फरार रहेका मृतकका पति अनिल पासवान र राधा पासवानलाई धनुषा प्रहरीले खोजी गर्दै जाँदा धनुषाको जनकनन्दनी गाउँपालिका–२ बलहा टोलमा लुकिछिपी बस्दै गरेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश कुमार बस्नेतले जानकारी दिनु भएको छ ।
सिरहा जिल्ला विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर माइत भएकी चिन्ताले माघ १८ गते साँझ ७ बजे बुवा दुखी पासवानलाई फोन गरेर आफुमाथि पति अनिल पासमान र सासु कुमला देवी पासवानलगायतले कुटपिट गर्दै आएकोले आफु माइत आउन चाहेको बताउनु भएको थियो ।
प्रहरीले लासको जनकपुरस्थित प्रादेशिक अस्पतालमा माघ २० गते पोस्र्टमार्टम गरिएको जनाएको छ ।
मृतकको एक वर्षे छोरा दिपेश पासवान रहेकोमा हजुरबुवा दुखी पासवानले हेरचाह र पालनपोषणको लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट बुझी लग्नु भएको छ ।

अन्य

भिडियो