१६ वर्षीया, १८ वर्षीया र १९ वर्षीया तीन जनालाई लुम्बिनी घुमाउने प्रलोभन देखाएर भारत लैजादै गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ग्याङफेदी गाउँपालिका–८ का ४० वर्षीय मुइलामा तामाङलाई माघ १२ गते लुम्बिनीबाट गिरफ्तार गरेको छ ।
पीडितहरुलाई आरोपितले माघ ७ गते लुम्बिनी घुमाउने प्रलोभन देखाएर नुवाकोटबाट ल्याएको र भारतको मुम्बईमा लैजान थालेको पीडितहरूले थाहा पाएर बास बसेको होटल सञ्चालकको सहयोगमा माघ १२ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको सई डेलम्बर घिमिरेले बताउनु भयो ।
उक्त उजुरीका आधारमा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा कारवाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको सई घिमिरेले बताउनु भयो ।
पीडितहरूको स्वास्थ्य परीक्षण माघ १२ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।