धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरूले अवरोध गरेका छन् । पुस १८ गते भएको सहमति अनुसार भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसानले माघ ११ गते धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

सहमति अनुसार माघ ७ गतेभित्र सबै किसानलाई मिलले रकम भुक्तानी नदिएकाले आफूहरु बाध्य भएर अन्दोलन गर्नुपरेको उखु किसान रामविश्वास रायले बताउनु भएको छ ।
अन्नपूर्ण सुगर मिलले किसानहरूलाई ३ वर्षदेखिको करिब ४० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान लाग्दा स्थानीय किसानहरूले अबरोध गरेका हुन् ।
उद्योगमा ८ हजार क्वीन्टल चिनी मौज्दात छ । १० ओटा ट्रकमा चिनी काठमाडौँ लैजान लाग्दा अबरोध भएको हो । सरकारले किसानको माग तत्काल सम्बोधन गरेर भुक्तानी दिए मात्र आन्दोलन रोकिने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्राले जानकारी गराउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहोबरमा चिनी बिक्रीको लागि सहजिकरण गर्न थालिएको तर बिहानैदेखि स्थानीयको समूहले अबरोध गर्दै सडकमा खाल्डो खनेका थिए ।
उद्योगबाट चिनी पठाउन नसकिएको र किसानहरूले चिनी मिलको सुरक्षामा तैनाथ प्रहरीमाथि ढुङ्गामुढा गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिनु भएको छ ।



