नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले माघ ८ गते अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।
जिल्ला अदालतको पुस ७ गतेको आदेश अनुसार जनही १५ हजार रूपिँया धरौटी बुझाएर रिहा भएका दाङ जिल्ला सेक्रेटरी तुलसीपुर उमनपा–८ का ३९ वर्षीय प्रदीपबहादुर वली, सल्यान जिल्ला इन्चार्ज कुमाख गापा–६ का ५४ वर्षीय डिल्लीराज शर्मा, युवा संगठनका केन्द्रीय अध्यक्ष रूकुम पश्चिम जिल्ला आठविसकोट नपा– ३ का ३१ वर्षीय दीपराज सेर्पालीलाई गिरफ्तार गरेको हो ।
गिरफ्तार गरिएका सेर्पालीलाई काठमाडौ, शर्मा र वलीलाई नवलपरासी पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरूलाई ०७६ असोज ३० गते राजपुर गापा–४ बाट गिरफ्तार गरी राज्य विरूद्धको संगठित अपराधमा मुद्दा चलाएको थियो ।