संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १९ गते पाचौँ दिनपनि आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार सरकारले राष्ट्रिय हित विपरित संविधान संशोधन गर्न लागेको आरोपमा नेकपा एमाले, जनमोर्चा नेपाल, नेकपा मार्क्सवादी, अखण्ड नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले र नेकपा संयुक्तलगायतका दलहरूले आज पाँचौ दिन पनि बिहानैदेखि बुटवलका विभिन्न चोकहरूमा प्रदर्शन गरेका थिए ।

बन्दकर्ताले भैरहवा आनन्दवन, खैरेनी, सौ.फर्साटिकर, सालझण्डी, सैनामैनालगायतका स्थानहरूमा पनि प्रदर्शन गरेका थिए ।

बन्दका कारण आइतवार पनि यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण लामो तथा छोटा दुरीका सवारी साधनहरू, बजार, उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्थाहरू र औषधि पसलहरू आज पनि खुलेनन् ।
बन्दकर्ताले कुटनीतिक नियोगका गाडी, एम्बुलेन्स, विवाह, सञ्चार, मानव अधिकारकर्मी लगायत अत्यावश्यक क्षेत्रका गाडीहरूलाई भने निर्वाध सञ्चालन गर्न दिएको छन् ।

आज पनि केही समय प्रहरी र आन्दोलनकारीबिच केही समय सामान्य धकेलाधकेल भएको प्रहरीले जनायो ।
बुटवलको दिपनगरमा लु १ च ७२७६ नम्बरको बोलेरो गाडी र सिद्धेश्वरी उच्च मावि अगाडि पार्किङ गरेर राखेको जीपको सिसा फुटाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।
प्रहरीले आज पनि पाँच जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको जनाएको छ । आर्दशनगरबाट दुई जना, मिलनचोकबाट दुई जना र नेपालगञ्ज रोडबाट एक जनालाई गिरफ्तार गरिएको डिएसपी मरासिनीले जानकारी दिए ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार अनिश्चितकालिन पाल्पा बन्दको पाचौँ दिन मङ्सिर १९ गते पनि पाल्पाको जनजीवन प्रभावित भएको छ ।
जिल्लामा क्रियाशील राजनीतिक दल र विद्यार्थी सङ्गठनहरूले संयुक्त सङ्घर्ष समिति गठन गरी बन्दको आयोजना गरेका हुन् । बन्दका कारण लामो तथा छोटो दुरीका सार्वजनिक सवारी सधान चलेका छैनन् । विद्यालय तथा कलकारखानासमेत ठप्प छन् ।
सरकारले नियतवश तराई र पहाडका जिल्लाहरूलाई टुक्र्याउन लागेको आरोपमा विरोध स्वरुप बन्द तथा प्रदर्शन गरिएको नेपाली काङ्ग्रेस पाल्पाका सभापति बीरबहादुर रानाले बताए । हिमाल पहाड तराई कोही छैन पराई भन्ने सन्देशलाई कायम गराउन पनि यसप्रकारको दबाव आवश्यक रहेको अखण्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावलले बताए । बन्दकर्ताले तरकारी, दुध, एम्बुलेन्स, विवाह, प्रेस, मानव अधिकारकर्मीलगायतका सवारी साधनलाई भने निर्वाध सञ्चालन हुन दिएका थिए ।
बन्दका क्रममा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । विरोध कार्यक्रम अन्तर्गत मङ्सिर २० गते जिल्ला सदरमुकाममा बृहत जनप्रदर्शन कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।
आन्दोलनकारीले पाल्पामा युपी ५३ ए जेट ०२५२ नम्बरको भारतीय मोटरसाइकल र बा १ ख ५४८८ नम्बरको टिपर तोडफोड गरेकाे राससले जनाएकाे छ ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार मधेश र पहाडलाई छुट्याउन खोजिएको आरोपमा असन्तुष्ट पक्षले मङ्सिर १९ गते पनि जिल्लाका विभिन्न स्थानमा दिनभर प्रदर्शन गरेका छन् ।
अनिश्चितकालिन बन्दको घोषणाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनमोर्चा नेपाल, नेकपा माले, अखण्ड पार्टी लगायतका पार्टी तथा तिनका भातृ सङ्गठनहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । बन्दका कारण उद्योगधन्दा कलकारखाना, विद्यालय, बजार तथा पूर्व पश्चिम राजमार्ग ठप्प पारेका छन् । चन्द्रौटा, जितपुर, इमिलिया बनगाईलगायतका स्थानमा विद्यार्थी युवाहरूले प्रदर्शन जारी राखेका छन ।
सरकारले विवादै नभएको प्रदेशलाई विवाद निकालेर राष्ट्रलाई विखण्डन बनाउने राष्ट्रघाती संशोधन प्रस्ताव फिर्ता नहुञ्जेल आन्दोलन जारी राख्ने एमाले अध्यक्ष झविलाल पोखरेल चेतावनी दिएका छन ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा मङ्सिर १५ गतेदेखि जारी आन्दोलनका कारण यहाँको जनजीवन थप कष्टकर बन्न थालेको छ । आज सदरमुकामको लाँकुरी मञ्चबाट सुरु भएको राँके जुलुसले बजार परिक्रमा गरेको थियो । त्यस अघि विरोध र्यालीसमेत निकालिएको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । विरोध कार्यक्रममा ‘सिमाङ्कन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, हाम्रो आन्दोलन जारी छलगायतका नाराहरू लगाउँदै विरोध गरेका थिए ।
आन्दोलनलाई सम्वोधन गर्दै आन्दोलन परिचालन कमिटीका संयोजक एवम् नेपाली काङ्ग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले सरकारले संशोधन फिर्ता लिएर अखण्ड ५ नं प्रदेश घोषणा नगरे सम्म कुनैपनि हालतमा आफूहरू आन्दोलनबाट पछि नहट्ने बताए ।
गुल्मी उद्योग बाणिज्य सङ्घमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मङ्सिर २० गते तम्घासमा हुने विशाल आमसभा गर्ने तयारी रहेको परिचालन कमिटीले जानकारी दिएको छ । आन्दोलनलाई अराजक बन्न नदिनको लागि स्वयम्सेवक दल समेत गठन गरिएको छ ।
आन्दोलन अवधिभर कुनै पनि राजनीतिक दलको झण्डा प्रयोग नगर्ने पनि परिचालन कमिटीले निर्णय गरेको छ ।
जिल्ला बन्दले उद्योगी व्यावसायी, यात्रु, सेवाग्राही तथा बिरामीहरूलाई सास्ती भएको छ । विद्यालय तथा शैक्षिक संस्था भने निर्वाध रूपमा सञ्चालनमा छन् ।
संविधानप्रति असन्तुष्टी जनाउँदै आएका केही राजनीतिक दलको मागलाई सम्बोधन गर्ने नाममा सरकारले आम नागरिकको चाहना र भावना विपरित गएर संविधान प्रस्ताव संशोधन गर्न लागेको भन्दै स्थानीय आन्दोलित बनेको गुल्मी उद्योग बाणिज्य सङ्घका अध्यक्ष दुर्गा पाण्डेयले बताए ।
जिल्लामा शान्तिपुर्ण रूपमा विरोध प्रदर्शन भएको तर स्थिति कुनै पनि बेला भडि्कन सक्छ भनेर सुरक्षाकर्मीहरू तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए ।
फोटोः रिमा विसी, रुपन्देही