INSEC Online

📅 २०८३ जेष्ठ २१

चन्दा माग्दै धम्की आएको जनप्रतिनिधिको गुनासो

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको नाममा चन्दा माग्दै धम्की आउन थालेको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाका जनप्रतिनिधि र व्यापारीसँग चन्दा माग्दै फोनबाट धम्की दिने गरेको जनप्रतिनिधिहरूले बताएका छन् ।

पाँचखपन नगरपालिका –४ का वडाध्यक्ष काजी तामाङले विप्लव कार्यकर्ता बताउनेले आफूलाई टेलिफोनमा ५० हजार रूपियाँ चन्दा दिन धम्की दिएको बताउनुभयो ।

विप्लव कार्यकर्ताले पाँचखपनका नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूलाई टेलिफोन गरेर ५० हजार रूपियाँदेखि एक लाख रूपियाँसम्म चन्दा माग्ने गरेको पाँचखपन नगरपालिकाका नगर प्रमुख विपिन राईले बताउनु भयो । चन्दा नदिए भौतिक कारबाही गर्नेसमेत धम्की आएको उहाँको भनाई छ ।

आफूहरूलाई पटक–पटक चन्दा माग्दै धम्की आउँदा समेत खुलेर भन्न सक्ने अवस्था नभएको पाँचखपन नगरपालिका –२ का वडाध्यक्ष उत्तम दहालले बताउनुभयो । उहाँले भन्नुभयो “मलाई ३० हजार रूपियाँ चन्दा मागेका छन् ।” फरक–फरक नम्बरबाट फोन गरेर चन्दा माग्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

विप्लव कार्यकर्ताले चैनपुर नगरपालिकाका नगरप्रमुख भरत कुमार खत्री, मादी नगरपालिकाका प्रमुख विदुरकुमार लिंथेप, तथा धर्मदेवी नगरपालिकाका जनप्रतिनिधिसँग १० हजार रूपियाँदेखि २ लाख रूपियाँसम्म चन्दा माग्ने गरेको र चन्दा नदिए भौतिक कारबाही गर्ने धम्की आउने गरेको जनप्रतिनिधिहरूको आरोप छ ।

ब्यापारीसँग १५ लाख रूपियाँ चन्दा मागिएको गुनासो

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले चैनपुर नगरपालिकाका एक व्यापारीसँग १५ लाख रूपियाँ चन्दा माग गरेको पीडितले बताउनुभयो । फोन गरेर चन्दा माग गरेको पीडित व्यापारीको भनाई छ ।

विप्लव कार्यकर्ताले चन्दा नदिए भौतिक कारबाहीको धम्की दिएपछि उनी प्रहरीसमक्ष आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिमबहादुर लामाले बताउनुभयो । व्यापारीको नाम प्रहरीले गोप्य राखेको छ  । विप्लव कार्यकर्ताले पुुस १५ गते १५ लाख रूपियाँ बुझाउन भाखा दिएको व्यापारीलाई उद्घत गर्दै डिएसपी लामाले जानकारी दिनुभयो । त्यस्तै, विप्लव कार्यकर्ताले जिल्लाका ठेकेदारलाई समेत फोनबाट चन्दा माग गरेको पीडितहरूले बताएका छन् ।

जनप्रतिनिधि तथा व्यापारीहरूलाई चन्दा माग्दै फोनबाट धम्की आउँदा समेत उनीहरूलाई प्रहरीले गिरफ्तार गर्न नसकेको डिएपी लामाले बताउनुभयो । उहाँले फोन ट्रयाक गर्न अदालतको आदेश चाहिने कानूनी व्यवस्था भएकाले तत्काल एक्शन लिन नसकेको बताउनुभयो । सङ्खुवासभामा यसअघि भोटखोला गाउँपालिका कार्यालयमा आगजनी, मादी नगरपालिकाको वडा कार्यालयमा आगजनी, पाँचखपन नगरपालिकाको गाडीमा आगजनी, तथा अरूण तेस्रोको निमार्ण स्थलमा बम विष्फोट लगायतका घटनामा संलग्न अज्ञात पक्षको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो