खाँडादेवी गाउँपालिका–४ माढी मुहानका कृषक पुष्कर कार्कीले लगाएको तरकारी बारीमा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन प्राविधिक पाउनु भएन । समयमा नै प्राविधिक सल्लाह नपाउँदा उहाँले लगाएको तरकारी रोगले डढेर गएको बताउनुभएको छ ।
‘समयमा नै प्राविधिकको सल्लाह लिएर औषधि गर्न पाएको भए रोग निको हन्थ्यो होला । तर, प्राविधिक नपाउँदा यस वर्षको मेहनेत त्यतिकै खेर गयो ।’–कार्कीले भन्नुभयो ।
खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीका स्वायङ्बो तामाङको पनि गुनासो त्यस्तै छ । ‘खै अब त गाउँगाउँमा सरकार अयो भन्छन् । तर, प्राविधिक कहिल्यै गाउँमा आएनन् ।
बालिनालि लगाउन होस् वा रोग किरा लाग्दा होस् के गर्ने भनेर प्राविधिकको सल्लाह पाइँदैन’, उहाँले गुनासो गर्नु भयो ।
रामेछाप जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका खाँडादेवी गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहे पनि गाउँपालिकामा पर्याप्त कृषि प्राविधिक नहुँदा कृषकहरूले प्राविधिक सेवा पाउन सकेका छैनन् ।
नौ ओटा वडा रहेको सो गाउँपालिकामा अहिले तीन जना मात्र कृषि प्राविधिकहरू रहेका छन् । ती मध्ये पनि एकजना गाउँपालिकाको कृषि शाखामा बस्नु पर्ने भएकाले दुई जना प्राविधिक कृषकहरूको खेत बारीमा पुग्न नसकेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो ।
कृषकहरूको भनाइ र माग जायज भएको बताउँदै अध्यक्ष तामाङले केन्द्र सरकारले दरवन्दी अनुसारका कर्मचारीहरू नपठाइदिँदा समस्या भएको बताउनु भयो ।
उहाँले अब गाउँपालिकाले नै भए पनि कृषि प्राविधिकको व्यवस्था गरी कृषकहरूलाई सेवा दिने बताउनु भयो ।
खाँडादेवी गाउँपालिकामा मात्र हैन अन्य स्थानीय तहमा समेत कृषि प्राविधिहरूको समस्या भएको कृषकहरुको गुनासो छ ।
कृषहरुको यो गुनासोप्रति जनप्रतिनिधिहरू पनि सहमत छन् । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत पनि कृषकहरूलाई प्राविधिक सेवा दिन नसकेको बताउनुहुन्छ ।
‘कृषि प्राविधिकलाई गाउँमा पठाउनै गार्हो छ । पठाएकालाई टिकाउनै गा¥हो छ । किसानलाई सेवा दिन सकिएको छैन ।’–बस्नेतले भन्नुभयो ।
जिल्लामा कृषि ज्ञानकेन्द्र भए पनि ज्ञानकेन्द्रले समेत प्रभवकारी काम गर्न नसकेको उहाँले आरोप लगाउनुभएको छ ।