इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष ४६ वर्षीय पञ्चबहादुर चेपाङमाथि अमानवीय व्यवहार भएको छ ।
मङ्सिर २१ गते शनिबार साँझ ६ बजेको समयमा वडा कार्यालय रहेको ओर्लाङस्थित भवन अगाडि आफूमाथि केही युवाहरूले कुटपिट गरेको, मोसो दलेको, अपशब्द बोलेको, जुत्ताको माला लगाएको, मलमुत्र खुवाउँछु भनेको भन्दै पीडित वडा अध्यक्ष चेपाङले जिल्ला प्रहरी कार्यालय चितवनमा मङ्सिर २२ गते निवेदन दिएका छन् ।
यसअघि वडा कार्यालय रहेको स्थान ओर्लाङबाट नयाँ स्थान कार्यालय सार्ने क्रममा आफूमाथि आक्रमण भएको उनले बताए ।
उत्तरकुमार गुरुङ, गीताबहादुर गुरुङ, विजय गुरुङ र जोखलाल चेपाङलगायतले आफूमाथि कुटपिट र मोसो दल्ने काम गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले दोषीहरूको खोजी भइरहेको बताएका छन् ।
मङ्सिर २२ गते नै पीडितको उपचार भरतपुर अस्पतालमा गरिएको छ । ‘कुटपिट र लछारपछार पछि रोकिराखेको गाडीमा धकेले ।’–वडाध्यक्ष चेपाङले भने–‘बोक्सा, छौँडा लगायतका अपशब्दहरू प्रयोग गरेर ममाथि अमानवीय व्यवहार भयो ।’
वडाअध्यक्ष चेपाङमाथि भएको दुर्व्यवहारको सर्वत्र विरोध भएको छ । संविधान सभा सदस्य गोविन्द चेपाङले पञ्चबहादुरमाथि भएको घटना समग्र चेपाङ समुदायमाथिको समेत आक्रमण भएको बताउनुभएको छ ।
घटनाको विरोधमा नेकपा चितवन, नेकपा इच्छाकामना, नेपाल चेपाङ सङ्घ, जिल्ला कार्यासमिति चितवन, इच्छाकामना गाउँपालिका एकाईलगायतले मङ्सिर २२ गते विज्ञप्ति निकालेर विरोध गरेका छन् ।
त्यस्तै इच्छाकामना गाउँपालिकाका ६ ओटा वडाका अध्यक्षहरूले आइतार विज्ञप्ति निकालेर घटनाको भत्सर्ना गरेका छन् ।