INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट तथा दुर्व्यवहार गरेको आरोप

महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन पर्साकी एक ज्येष्ठ नागरिक महिलाले कथित बोक्सीको आरोपमा दुर्व्यवहार भोग्नु परेको घटना सार्वजनिक भएको छ ।

बहुअर्वा भाठा-६ की ६० वर्षीया राधिकादेवी तुराहलाई मङ्सिर ९ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ५० वर्षीय रामानन्द मुखिया विन र उनका २५ वर्षीय छोरा मुकेश विनले कुटपिट गरी घाइते बनाएको आरोप छ ।

रामानन्दको नातीलाई बोक्सी लगाएको आरोप लगाउँदै उनीहरूले राधिकादेवीलाई लाठीले कुटपिट गर्दा उनको निधारमा गम्भीर चोट लागेको पीडित पक्षले जनाएको छ । पीडित महिलाका छोरा बैधनाथ तुराहले आमालाई सोही दिन राति नै बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएका थिए । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचार गरेपछि अहिले थप उपचारको लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ  । उनको निधारमा चार ओटा टाँका लगाइएको छ ।

पीडित महिलाका छोरा बैधनाथले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रराज जोशीले बताए । घटनाको गहन अनुसन्धान सुरू गरिएको पनि डीएसपी जोशीले बताए ।

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका दुवै जना आरोपित फरार रहेकोले उनीहरूको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो