मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि मौन अवधिमा कुनै पनि दल, उम्मेदवारका पक्षमा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था भएपनि सप्तरीमा पत्रकारहरू समेत मौन अवधिमा मत माग्ने काम गरिरहेका छन् ।
नेपाल पत्रकार महासङ्घ सप्तरीका कोषाध्यक्ष शुभचन्द्र झाले आफ्नो फेसबुकमा छिन्नमस्ता गाउँपालिका–७ को वडा अध्यक्ष र महोत्तरी पिपरा गाउँपालिकाको अध्यक्षका लागि मतदान गर्न आग्रह गरेका छन् ।
निर्वाचन आचारसंहिता २०७२ को परिचछेद २ को दफा ५ को (घ) (३) मा मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने प्रष्ट व्यवस्था छ ।
यस्तै परिच्छेद ५ को १४ को (ग) मा पेशागत आचरण एवम् मान्यता विपरीत हुने काम कारबाही गर्न नहुने र सोही दफाको (ञ) मा उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एसएमएस, फेसबुक, ट्वीटर, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण वा सम्प्रेषण नगर्ने उल्लेख छ । .
आचारसंहिता विपरीत प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह र सामाजिक विकास मन्त्री नवलकिशोर साह पनि चुनावी प्रचारप्रसारमा संलग्न छन् ।
निर्वाचन आचार संहिता २०७२ को परिच्छेद ३ को दफा ६ मा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार अनुगमनमा आचारसंहिता उल्लङ्घन भएको भेटिए १ लाख रुपियाँसम्म जरिबाना र उम्मेदवारी नै रद्द समेत गर्न सकिने व्यवस्था छ । तर, निर्वाचन कार्यालय यस विषयमा मौन रहेको छ ।

