सप्तरीका प्रमुख राजनीतिक दलका नेताहरू र उम्मेदवारहरूले अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए विपरीत मौन अवधिमा समेत निर्वाचन आचारसंहिताको रूपमा उल्लङ्घन गरेका छन् ।
यही मङ्सिर १४ गते हुने छिन्नमस्ता गाउँपालिका–७ को उपनिर्वाचनमा मतदान केन्द्र वरिपरी राखिएका व्यानर, पोष्टर, पम्पलेटलगायत प्रचार सामग्री मङ्सिर १३ गते साँझसम्म हटाइएको छैन ।
निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद २ को दफा ५ को (घ) मा मौन अवधिमा पालना गर्नुपर्ने आचरणको व्यवस्था छ ।
दफा ५ को (घ) (२) मा मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार सामग्री हटाएको हुनुपर्ने उल्लेख छ ।
राजनीतिक दलहरूका प्रतिनिधि तथा उम्मेदवारहरूलाई प्रचार सामग्री हटाउन मङ्सिर १२ गते नै आग्रह गरेपनि मतदान केन्द्र वरिपरी राखिएका निर्वाचन प्रचार सामग्री अझै नहटाइएको भन्दै मतदान अधिकृत हरी पराजुलीले प्रहरीको सहयोगमा हटाउने बताउनु भयो ।
छिन्नमस्ता गाउँपालिका–७ हाटीस्थित मन्दिर, सार्वजनिक संस्था, पोल, खम्बाहरूमा झुण्ड्याइएको पार्टी र स्वतन्त्र उम्मेदवारहरूको व्यानर, झण्डा र पोष्टर टाँसिएका छन् ।




