सङ्खुवासभाको उत्तरी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरूद्ध हुँदा त्यसको असर स्थानीय तहको निर्वाचनका क्रममा देखा पर्ने भएको छ ।
मङ्सिर १४ गते उपनिर्वाचनको सुरक्षामा सञ्चार क्षेत्रतर्फ असर पर्न जाने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
टेलिफोन सेवा नहुँदा सुरक्षामा समेत चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी मीमबहादुर लामाले बताउनुभयो ।
उहाँले भन्नु भयो–‘मकालु गाउँपालिकामा टेलिफोन चल्दैन । मतदानस्थल टाढाटाढा छन् । कहाँ के भइरहेको छ ? थाहापाउन कठिन छ ।’ उहाँका अनुसार मकालु गाउँपालिकामा वाकीटकी समेत चलेको छैन ।
कुन मतदान स्थलको सुरक्षा स्थित के कस्तो छ ? थाहा पाउन नसक्दा समस्या हुने मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताउनु भयो ।
टेलिफोन सेवा अवरूद्ध हुँदा मकालु र भोटखोला गाउँपालिकाका नागरिकहरू सञ्चार सेवाबाट वञ्चित भएका छन् ।
मकालु गाउँपालिका–५ को माम्सी डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चार सेवा अवरूद्ध भएको हो । एक महिनादेखि टावरमा समस्या हुँदा समेत सरोकारवाला निकाय भने मौन छ ।
मकालु गाउँपालिका–३ का राजेश तामाङले टेलिफोन सुचारू गर्न पटक–पटक टेलिकम कार्यालयमा जानकारी गराएपनि सुनुवाइ नभएको बताउनु भयो ।
सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटनामा समस्या हुने गरेको स्थानीयले बताएका छन् । उत्तरी क्षेत्रमा सञ्चार सेवा अवरूद्ध भएको एक महिना बित्दा पनि सरोकारवाला निकायले खासै चासो नदेखाएको पत्रकार गङ्गा विष्टले बताउनु भयो ।
दुर्गममा रहेका टावरमा घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या भएको नेपाल टेलिकम खाँदबारी शाखाले जनाएको छ ।
मकालु गाउँपालिकाको माम्सी डाँडामा रहेको टावरको व्याकअपमा समस्या आएको नेपाल टेलिकम खाँदबारी शाखाका प्रमुख राधारमण भट्टराईले बताउनु भयो ।