यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचन बहिष्कारको आन्दोलन घोषणा गरेको क्रान्तकारी माओवादीका चारजना नेता कार्यकर्तालाइ प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा कर्णाली प्रदेश इञ्चार्ज एवम् पोलिटब्यूरो सदस्य ६० वर्षीय चक्रपाणी शर्मा, जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज ४२ वर्षीय दिपकबहादुर शाही, जिल्ला सचिव ६८ वर्षीय चक्रबहादुर शाह र जिल्ला सदस्य ३८ वर्षीय हिरालाल गोसाई रहेको प्रहरीले जनाएको छ ।
कुमाख गाउँपालिका–५ बल्लेमा चुनाव बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा घटनास्थलबाटै सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
गिरफ्तारीमा परेका व्यक्तिका साथबाट ‘संसदीय उपचुनाव बहिष्कार गरौँ, सङ्घीय गणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने नारा लेखिएको पर्चा भेटिएको डिएसपी खतिवडाले जानकारी दिनुभयो ।
आरोपितलाई जिल्ला प्रशासन कार्यालयले मङ्सिर ११ गते नै सात दिने म्याद थप गरी अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले निर्वाचन बिथोल्न खोज्ने जो सुकैलाइ पनि कडा कारवाही गरिने बताउनुभयो । निर्वाचन अवधिभर आचारसंहिता उल्लङ्घन वा निर्वाचन विरोधी गतिविधि नगर्न समेत उहाँले सबैमा आग्रह गर्नुभएको छ ।