नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जाजरकोट जिल्ला संयोजक रूपन्देही जिल्लाको बुटवल उमनपा–१३ देवीनगरकी २६ वर्षीया रञ्जिता थापालाई नलगाड नपा—५ रघुनाथबाट प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।
शनिवार राती नलगाड नगरपालिका–५ रघुनाथकै जङ्गलमा बम विष्फोट भएपछि प्रहरी घटनाका बारेमा बुझ्न जाने क्रममा थापा फेला परेको र थापा सो पार्टीको कार्यकर्ता हुन सक्ने र बम विष्फोट समेत उनीहरूले नै गरेको आशङ्कामा मङ्सिर ८ गते बिहानदेखि बाक्लो रूपमा प्रहरी परिचालन गरेपछि थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर केशरबहादुर कार्कीले बताउनुभयो ।
केन्द्रीय पार्टीको निर्देशनमा कार्यक्रम गरेको भन्दै सो पार्टीले मङ्सिर ७ गते नलगाडमा विरोध प्रदर्शन गरेको थियो ।