पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँ गाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायबिच जिल्ला समन्वय समितिको कार्यालयमा मङ्सिर ६ गते आयोजना गरेको छलफलमा दलका प्रतिनिधिहरूले आपत्ति जनाएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा प्रदान गर्नका लागि मङ्सिर ६ गतेबाट ११ गतेसम्मका लागि प्रत्येक वडामा दुई जनाका दरले १० ओटा वडामा २० जना मतदाता शिक्षा कार्यकर्ता नियुक्त गरी परिचालन गरेको छ ।
कार्यक्रममा सहभागी नेकपाका नेता शम्भु दङ्गालले उपनिर्वाचनमा सहभागी भएका दलहरूसंग परामर्श नगरी पार्टीको झण्डा बोक्ने व्यक्तिहरूलाई मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै यो कार्यक्रम तत्काल रोक्नु पर्ने बताउनुभयो ।
पार्टीको झण्डा बोकेर घरदैलो कार्यक्रममा भोट माग्न हिँड्ने व्यक्तिलाई कार्यालयले मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै उहाँले मतदाता शिक्षा कार्यक्रम तत्काल रोकेर निष्पक्ष व्यक्तिलाई परिचालन गर्न निर्वाचन कार्यालयसँग माग गर्नुभयो ।
नेपाली कांग्रेसका जिल्ला सचिव निशान ढुङ्गेलले निर्वाचन कार्यालयले हचुवाको भरमा मतदाता शिक्षा कार्यकर्ता छनौट गर्न नहुने भन्दै निष्पक्षताको सुनिश्चितताको माग गर्नुभयो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पाण्डव सुवालले मतदाता शिक्षा दिने व्यक्तिले नै चुनाव चिन्हको उदाहरण दिँदै आफू निकट दलको पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाउने भएकाले मतदाता शिक्षाको औचित्य नभएको बताउनुभयो ।
साझा पार्टीका प्रतिनिधि कालिचरण कार्कीले मतदाता शिक्षा दिने स्वयम्सेविका वा कार्यकर्ताले नै सरकारी भत्ता खाएर निष्पक्ष मतदाता शिक्षा दिन नसक्ने गरी पार्टीको कार्यकर्तालाई कार्यालयले परिचालन गरेको भन्दै आपत्ति जनाउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मुकुन्द थापाले मतदाता शिक्षा कार्यक्रमलाई तत्काल रोक्न अनुरोध गर्दै अहिलको समयमा मतदाता शिक्षाको औचित्य नभएको बताउनुभयो ।
यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ (क) मा हुने प्रदेश सभा सदस्य पदको उपनिर्वाचनमा मतदातालाई निर्वाचन तथा मतदान प्रक्रिया र यसका प्राविधिक तथा कानुनी पक्षका बारेमा आधारभूत जानकारी दिँदै निर्वाचनमा मतदाताको व्यापक सहभागिताका साथै बदर मतको प्रतिशतलाई न्यूनीकरण गर्ने उद्देश्यले परिचालन गरेको कार्यालयका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।
गत निर्वाचनमा मतदाता शिक्षा कार्यकर्ताका रूपमा परिचालित भएका ५७ जना मध्ये २० जनालाई छनौट गरी परिचालन गरेको भन्दै उहाँले मतदाता शिक्षा कार्यक्रम रोक्न भने नमिल्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदाता शिक्षा दिन परिचालन भएकाहरूलाई आफू बसेको वडा भन्दा फरक वडामा परिचालन गर्न निर्वाचन कार्यालयलाई सुझाव दिनुभयो ।