२१ वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जगनाथ गाविस-९ का २२ वर्षीय यामबहादुर शाहीलाई जिल्ला अदालत दैलेखले मङ्सिर ९ गते पाँच वर्षकैद र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट उक्त फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले बताए ।
पीडित महिलालाई आरोपितले ०७२ फागुन ६ गते बलात्कार गरेको आरोप लगाउँदै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजरी दिएको थियो । तर, अदालतबाट बलात्कार प्रयास गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो । प्रहरीले ०७२ फागुन ९ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।
न्यायाधीश पण्डितकै इजलासबाट मङ्सिर ९ गते भएको अर्को फैसलामा यौन दुर्व्यवहारको जाहेरी विपरित अदालतमा बयान बदल्ने एक महिलालाई १ हजार रुपियाँ जरिबाना र आरोपितलाई २ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ । अदालतले दिएको जानकारी अनुसार जरिबाना सरकारी कोषमा जानेछ भने क्षतिपूर्ति आरोपितले पाउनेछन् ।
कालिका गाविस-३ टिमुरेका ३९ वर्षीय दलबहादुर योगीले २१ वर्षीया एक महिलालाई ०७३ साउन २५ गते बलात्कार प्रयास गरेको भन्दै साउन ३० गते पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
भदौ १७ गते दैलेख जिल्ला अदालतमा मुद्दा पेश हुँदा जाहेरी अनुसारको दावी नपुग्ने देखि अदालतले आरोपित योगीलाई तारेखमा छाडेको थियो ।
जाहेरवालाले सुरू जाहेरीको विपरित ‘जवरजस्तीकरणी भएको होइन रीसिबीले जाहेरी दिएकी हुँ’ भनी अदालतमा बयान दिएको कारण उनलाई त्यस्तो सजाय भएको जिल्ला अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले बताए ।