कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–२ की २८ वर्षीया बिमला सेरेलालाई जिल्ला कारागार, कैलाली परिसरबाट मङ्सिर २ गते प्रहरीले गिरफ्तार गरेको छ ।
बिमलाका पति लक्ष्मण सेरेलालाई भेट्न जिल्ला कारागार पुगेकी बिमलालाई चेकजाँच गर्ने क्रममा एक थान मोबाइल र सिमकार्ड साडी भित्र लुकाएको अवस्थामा फेला परेपछि उनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
बिमलालाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको समेत डिएसपी बस्नेतले बताए ।
०७६ साउन ४ गते धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित शहीदगेटमा आफैँले बोकेको बम विस्फोटमा परी घाइते भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता ३५ वर्षीय सेरेलाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारपछि साउन २१ प्रहरीको गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतले असोज ३० गते पुर्पक्षका लागि कारागार पठाएका आरोपित पति सेरालालाई भेटन गएको अवस्थामा बिनाकारण प्रहरीले गिरफ्तार गरेको पीडित पक्षको आरोप छ ।