INSEC Online

📅 २०८३ जेष्ठ २१

जोखिमयुक्त लाभग्राहीको घर अझै बनेन

आफू एकल भएकै कारण घर निर्माण गर्न नसकेकी नीलकण्ठ नगरपालिका–२ की इन्द्रकुमारी मगर सरकारले भूकम्पबाट घर क्षति भएर निर्माण गर्न दिएको रकमले घर निर्माण गर्न नसक्ने अवस्थामा पुगेकी छिन् ।

एकल र वृद्ध अवस्था भएकोले उनले घर निर्माण गर्न नसकेपछि हालसम्म पनि पहिलो किस्ताको रकम समेत उनको खातामा गएको छैन ।

नीलकण्ठ नगरपालिका–१२ आँगेटारीका यमबहादुर थापामगरले गरिवीका कारण झुण्डिएर आत्महत्या गरेको प्रहरी अभिलेखमा छ ।

उनकी पत्नी लक्ष्मी थापा मगर हलचल गर्न नसक्ने अवस्थामा सुतिरहेकी छिन् । तीन जना सन्तान बाँसले बारेको टहरोमा बसिरहेका छन् ।

घर निर्माणका लागि पहिलो किस्ता झिकेको भएपनि सो रकम लक्ष्मी थापा मगरको उपचारमा खर्च भइसकेको छ ।

न उनीहरू घर बनाउन सक्छन् । न उनीहरूको बस्ने ठाउँ छ । जाडो महिनामा ओछ्यानमै शीत चुहिने अवस्थामा १२ वर्ष मुनिका तीन बालबालिका बस्न बाध्य छन् ।

उनीहरूमात्र होइन पुनः निर्माण प्राधिकरणले भूकम्पपछि गरेको तथ्याङ्क सङ्कलनको आधारमा धादिङ जिल्लामा १ हजार ८ सय २९ लाभग्राही जोखिमयुक्त अवस्थामा रहेका थिए ।

यसमध्ये घर निर्माण सुरू नै नगर्ने लाभग्राहीको सङ्ख्या ९८ रहेको पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आनन्दराज पाण्डेले बताए ।

जोखिमयुक्त लाभग्रहीमध्ये १ हजार १ सय ७४ ले मात्र सर निर्माण सम्पन्न गरेका छन् । घर निर्माण सुरू गरेर पनि ६ सय ५५ ले निर्माण सम्पन्न गर्न सकेका छैनन् ।

एकल महिला, ७५ वर्ष नाघेका मानिस, १४ वर्ष मुनिका मानिस र अपाङ्गता भएका मानिसहरूको घर जोखिमयुक्त लाभग्राही भनेर पुनःनिर्माण प्राधिकरणले परिभाषित गरेको छ ।

यसैगरी पुनः निर्माण प्राधिकरणले धादिङबाट ६ सय ८६ जना लाभग्रहीको नाम सूचीबाट हटाएको छ ।  लाभग्राही सूचीमा सूचीकृत भएर पनि सम्झौता नगर्ने र पहिलो किस्ता रकम नलिनेहरूको नाम हटाएको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका पाण्डेको भनाइ छ ।

अन्य

भिडियो