१३ वर्षीया बालिकालाई बलात्कार गरेको भनी १६ वर्षीय बालकविरूद्ध अदालत समक्ष झुटो बयान (बकपत्र) दिएको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीले म्याङलुङ नपा–४ की ५२ वर्षीया गिरीराज खत्री, ४२ वर्षीया सावित्रा खत्री र ३२ वर्षीया चन्द्रमाया खत्रीलाई कात्तिक २० गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर प्रधानले बताए ।
पीडित बालिकालाई आरोपित बालकले ०६८ असोज १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेपनि अदालतमा पीडितलाई प्रतिकुल हुने गरी बकपत्र गरेको भन्दै पुनरावेदन अदालतका न्यायधीश बलराम विष्ट र केदार पौडेलले ०७१ माघ १३ गते जाहेरीवालालाई जनही ३-३ महिना कैद फैसला गरेकोमा सर्वोच्च अदालतले ०७५ मङ्सिर २ गते पुनरावेदन अदालतको फैसलालाई सदर गरेपछि फरार रहेका झुटो बकपत्र गर्नेलाई गिरफ्तार गरेको डिएसपी प्रधानले बताए ।
बलात्कार अभियोग लागेका आरोपितलाई जिल्ला अदालतका न्यायधीश मात्रिकाप्रसाद कोइरालाले ०७१ जेठ २५ गते १२ वर्ष कैद सजाय फैसला गरेका थिए ।
फैसलापछि फरार रहेका प्रतिवादीलाई ०७४ चैत १३ गते प्रहरीले गिरफ्तार गरि कारागार चलान गरेको थियो । झुटो बकपत्रका आधारमा सजाय पाएका आरोपितले अहिले कैद भुक्तान गरिरहेका छन् ।
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८ ‘क’ मा झुटो बकपत्रका आधारमा निर्दोषलाई सजाय दिलाउन नहुने उल्लेख छ ।
बयान दिनेहरूले सोही ऐनको दफा २८ उल्लङ्घन गरेको कसुरमा गिरफ्तार गरी कानुनी कारवाही अघि बढाएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०६८ असोज १२ गते गरिएको थियो ।