१५ वर्ष ११ महिना ७ दिनकी बालिकालाई खडग नपा–९ शर्पा टोलका २१ वर्षीय मो. नौसाद आलम र राजविराज नपा–९ बिहारपुरका ३९ वर्षीय फिदा हुसेन लगायतका चार जनाले अपहरण गरी शरीर बन्धक बनाएको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा कात्तिक २१ गते उजुरी दिएका छन् ।
पीडित बालिका शौच गर्न घर बाहिर निक्लिएका बेला कात्तिक १४ गते स.९प ९५५० नम्बरको पल्सर मोटरसाइकलसहित दुई मोटरसाइकलमा बाटो ढुकी बसेका आरोपितहरूले बालिकालाई अपहरण गरेको पीडित परिवारको आरोप छ ।
पीडितका बुबाका अनुसार आरोपितहरूले बालिकालाई नियन्त्रणमा लिई मुख थुनी मोटरसाइकलमा राखी पछाडी अर्को मानिसले पक्री भाग्न उम्कन नदिई अपहरण गरी शरीर बन्धक बनाएका हुन् ।
अभिभावकले पीडित बालिकाको जन्म दर्ता, फोटोसहित खोजतलासका लागि कात्तिक १५ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा हुलिया जाहेरी दिएकोमा आरोपितहरू पत्ता लागेपछि किटानी उजुरी दिएका हुन् ।
उजुरी दर्ता गरी पीडितको खोजी गर्न र आरोपितहरूलाई गिरफ्तार गर्न प्रहरीले चासो नदिएको परिवारका सदस्यहरूले गुनासो गरेका छन् । पीडित र आरोपित हालसम्म फेला परेका छैनन् ।