७३ वर्षीय कैदी धनबहादुर सुनार । असोज ११ गते तीन वर्षमा पहिलो पटक रक्तचापको जाँच । उनलाई उच्चरक्तचाप देखियो । डाक्टरले औषधि खान सुझाव दिए । सुनार आफैँ उमेर र पारिवारिक तवानले यो समस्या देखिएको बताउँछन् । मानव बेचबिखन मुद्दामा अदालतले उनलाई पाँच वर्षको कैद फैसला गरेको छ । ‘पाँच वर्ष कैदमा तीन वर्ष दुई महिना भुक्तान भयो । कसरत छैन । उमेर र तनावले रोग थपियो ।’–उनले भने ।
कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकी शान्ता पुनले पनि रक्तचाप जँचाइन् । उनलाई पनि उच्च रक्त चापकै समस्या देखियो । नाबालिका छोरीसँगै कारागार रहेकी पुनले छोरीको भविष्यको चिन्ताले दैनिक पिरोल्ने गरेको बताइन् ।
बलात्कार मुद्दामा कारागार रहेका भरत नेपालीले पनि रातमा निद्रा नपर्ने, मनमा कुरा खेल्ने, मुटु चस्कने लगायतका समस्या डाक्टरलाई सुनाए । यो समस्या अरूभन्दा अलिक जटिल भएकाले अस्पतालमै स्वास्थ्य परीक्षण गर्न डाक्टरहरूले सुझाव दिए ।
असोज ११ गते विश्व मुटु रोग दिवसका अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले कारागारका कैदीबन्दीहरूको उच्च रक्तचापको अवस्था जाँच गराएको थियो ।
स्वास्थ्य परीक्षणको क्रममा धेरैमा उच्च रक्तचापको समस्या देखिएको प्रतिष्ठानका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयले बताए ।
गुल्मी अस्पतालका डाक्टर सुरज पोख्रेल, अखण्ड उपाध्याय र दिपेन्द्रजङ्ग थापालगायतका स्वास्थ्यकर्मीको टोलीले कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेका थिए ।
कारागारका कैदीबन्दीहरूमा मानसिक तनाव बढी देखिएकाले पनि उच्च रक्तचापको समस्या हुने गुल्मी अस्पतालका डाक्टर सुरज पोख्रेलले बताए ।
आफूहरूले परीक्षण गरेकामध्ये १७ जनाको तत्काल मुटु तथा अन्य स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले अस्पताल रेफर गरिएको पोख्रेलले बताए ।
‘उच्च रक्तचापका कारण तनाव पनि हो । धेरै जनामा त्यो समस्या पाइयो ।’–उनले भने–‘स्वास्थ्य परीक्षणसँगै चिन्ता कम र नियमित व्यायम गरे समस्या कम हुन्छ ।’
कारागारका कैदीबन्दीलाई व्यायम गर्ने उपयुक्त स्थान र अवसर नभएका कारागार भित्र नै पछिल्लो समय योगा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
उनले स्वभाविक रूपमा कैदीबन्दीलाई तनाव बढी हुने भएकाले त्यसलाई कम गर्न योगा, मुडा, पछ्यौरा, सिलाइकटाई लगायतका उद्यमहरू सञ्चालन गरिएको बताए ।
अहिले दैनिक कारागारकै राजु नेपाली र डोलबहादुर परियारले अन्य कैदीबन्दीलाई योगा गराउँदै आएका छन् ।
गुल्मी कारागारमा अहिले ७८ जना पुरूष, चार जना महिला र एक नाबालिका गरेर ८३ जना रहेका छन् ।
२५ जनाको क्षमता भएको कारागारमा तेब्बर बढी कैदीबन्दी रहेका छन् । त्यसैले व्यावस्थापनमा निकै चुनौती थपिएको नाइके लेखनाथ गिरीले बताए ।

