१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाइ पतन समेत गराएको आरोपमा ४० वर्षीय बाबुलाई जिल्ला अदालतको असोज ५ गतेको फैसलाले ४० वर्ष कैद सजाय निर्धारण गरेको छ ।
न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उक्त फैसला गरेको छ । १५ वर्षीय छोरीलाई बलात्कार गरी गर्भ बोकाएको भनी परेको मुद्दामा अदालतले उक्त फैसला सुनाएको हो ।
यस घटनामा सहयोगी रहेकी पीडित बालिकाकी कान्छी आमालाई पनि ३ महिना कैद र ३० हजार रुपियाँ जरिबानाको फैसला भएको अदालतका सूचना अधिकारी श्रेष्तेदार रूद्रमणी गिरीले जानकारी दिए ।
हाडनाता वा बाबु छोरीबीचको सम्बन्धमा बलात्कार भएकाले जन्मकैद (२५ वर्ष)को सजाय तोकिएको हो । त्यस्तै पीडित बालिका भएको हिसावले १४ वर्ष र गर्भपतन गराएको आरोपमा थप १ वर्षकैद हुने गरी कुल ४० वर्षको कैद फैसला भएको अदालतले जनाएको छ ।
आरोपितविरूद्ध ०७५ पुस १३ गते उजुरी परेकोमा आरोपितलाई प्रहरीले सोही दिन नै गिरफ्तार गरेको थियो । स्वास्थ्य परीक्षणका लागि पुस १३ गते भरतपुर अस्तपाल पठाइएको थियो ।