नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सिद्धलेक गाउँपालिका-५ का ४० वर्षीय बुद्ध गुरुङलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ ।
गुरुङलाई गत असार १० गते कालुपाण्डे मार्गमा विष्फोटक पदार्थ राखेको, साउन १५ गते सिद्धलेक लेखाडाँडामा रहेको एनसेलको टावरमा बम विष्फोट गराएको, साउन १६ गते थाक्रे गाउँपालिका-३ मा रहेको एनसेलको टावरमा बम विष्फोट गराएको, ०७५ फागुन ११ गते थाक्रे गाउँपालिकाको मान्खुमा रहेको एनसेलको टावरमा बम विष्फोटन गराएर ध्वस्त पारेको, फागुन २५ गते कालुपाण्डे मार्गमा बम राखेको र चन्दा उठाएको, आरोपमा गिरफ्तार गरिएको हो ।
आरोपित गुरुङलाई धुनीबेसी नपा-९ पिपलमोडमा प्रदेश-३-०२, ००७ प ०९२७ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा गिरफ्तार गरिएको र उनको साथबाट नगद १ लाख २१ हजार रुपियाँ र पाँच थान मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार बैदवारले बताए ।
सङ्गठित अपराध तथा अपराधिक गतिबिधिलगायत पाँच ओटा आरोपमा मुद्दा चलाइएका गुरुङलाई भदौ ३१ गते जिल्ला अदालमा पेश गरी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।