१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय चन्दन सदाविरूद्ध पीडितकी दिदीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ २८ गते उजुरी दिएकी छिन् ।
पीडितसँगै जिल्ला प्रहरी कार्यालय आएकी उनकी दिदीले बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दिएको बताइन् ।
घरका अभिभावकहरू भारतको झारखण्डस्थित बैद्यनाथ धाम गएको मौका छोपी सुतिरहेका बेला बाँसले बेरेको टाँटी उप्काएर घरभित्र प्रवेश गरेका आरोपितले भदौ २५ गते राति बलात्कार गरेको पीडितले बताइन् ।
साडीले मुख बाँधेर बलात्कार गरेको थाहा पाएपछि आफूले दुई झापड लगाएको बताउँदै पीडितकी दिदीले आरोपित भाग्ने क्रममा उनको साँचो छुटेको बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ २८ गते भएको छ ।