पोखरा महानगरपालिका–२७ घर भएका पत्रकार ओम हमाललाई प्रहरीले अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।
भदौ १७ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार ओम हमाललाई अदालतको गेटबाटै प्रहरीले भदौ १७ गते पुनः गिरफ्तार गरेको हो ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको आरोपमा प्रहरीले हमाललाई भदौ ६ गते कास्कीको सिसुवाबाट गिरफ्तार गरेको थियो ।
हमाललाई भदौ १७ गते न्यायाधीशहरू केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश दिए पनि उनलाई अभद्र व्यवहार गरेको आरोपमा पुनः गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बताए ।
नेपाल पत्रकार महासङ्घ कास्कीका साधारण सदस्य तथा जनसञ्चार डटकम अनलाइनका सम्पादक रहेका हमाललाई भदौ १८ गते नै सर्वोच्च अदालतमा म्याद थपका लागि लगिने डिएसपी बोगटीले बताए ।