जिल्ला सदरमुकाम गमगढीमा रहेको खाद्य संस्थान बाहेकका अन्य ग्रामीण भेगमा रहेका खाद्य संस्थानको डिपोहरूमा खाद्यान्न मौज्दात शुन्य रहेपछि ति स्थानमा खाद्यान्न अभाव भएको छ ।
खाद्य संस्थान शाखा बाहेक अन्य तीन स्थानीय तह खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका खाद्य संस्थानका तीन डिपो र दुई विक्री केन्द्रमा असार महिनादेखि खाद्यान्न मौज्दात शुन्य भएपछि छायाँनाथ रारा नगरपालिका बाहेकका अन्य तीन स्थानीय तहमा खाद्यान्न अभाव भएको हो ।
सोरु गाउँपालिकाको सोरुकोट डिपोका लागि खाद्य संस्थानले आव २०७५/०७६ का लागि १ हजार ९ सय ९१ क्वीन्टल ९० केजी कोटा निर्धारण गरेको थियो ।
यो डिपोका लागी श्रेत्रीय खाद्य संस्थान सुर्खेतबाट थप २ हजार १ सय ९७ क्वीन्टल ५० केजी चामल ढुवानी भएको भएपनि सबै खाद्यान्न गएको असार अगावै सकिएपछि सोरुकोट डिपोमा चामाल शुन्य मौज्दात भएको हो ।
सोही गाँउपालिका-९ मा रहेको कालै विक्री केन्द्रका लागि २ हजार ७ सय क्वीन्टल चामल स्वीकृत भएको थियो ।
केही चामल डिपोमा ढुवानी गर्ने ठेकेदारले ढुवानी गरेको भएपनी केही खाद्यान्न बिचबाटोमै विक्री गरेकाले अहिले कालै विक्री केन्द्रमा चामल मौज्दात शुन्य रहेको छ ।
अहिले यहाँका उपभोक्ता सोरु गाँउपालिका-८ तारापानी बजारका ब्यपारीहरूबाट महङ्गो मुल्य हालेर खाद्यान्न जोहो गर्ने गरेको सोरु गाँउपालिका-८ का वडा अध्यक्ष परुनाथ योगी बताउँछन् ।
खत्याड गाँउपालिका-३ श्रीकोट डिपोकालागी १ हजार २ सय र सोही गाँउपालिका-११ मा रहेको रातापानी बिक्रि केन्द्रकोलागी ५ सय क्वीन्टल चामल ढुवानी भएको छ । श्रीकोट डिपोमा २ सय ५० क्वीन्टल मौज्दात छ । रातापानी विक्री केन्द्रमा पनि चामल शुन्य छ ।
मुगुम कार्मारोङ्ग गाँउपालिका-६ पुलुमा रहेको डिपोका लागि १ हजार ५ सय ९१ क्वीन्टल ७० केजी निर्धारण भएको र थप २ हजार १ सय १६ क्वीन्टल थप भएको भएपनि यो डिपोको गोदाममा जम्मा १ सय क्वीन्टल मौज्दात रहेको खाद्य संस्थान मुगुले जानकारी दिएको छ ।
गाँउ नजिकको खाद्य डिपोमा चामल हुँदा स्थानीयबासीलाई सहज थियो । स्थानीय ब्यपारीहरूबाट दुई सय रुपियाँ बढी मुल्य हालेर खाद्यान्न उपभोग गर्नु परेको सोरु गाँउपालिका-१ कर्णसिंह बुमीले बताएका छन् ।
जिल्लाका सबै क्षेत्रलाई आर्थिक वर्ष २०७५/०७६ मा खाद्य संस्थान केन्द्रिय कार्यालयले निर्धारण गरेको खाद्यान्न सकिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ का लागि के कति कोटा निर्धारण भएको जानकारी प्राप्त नभएको र ढुवानीका लागि कोटेशन आह्वान गरी ढुनानी पक्ष छनौट भएपछि सम्झौता पछि मात्र खाद्यान्न पुग्ने अहिले खाद्य संस्थान मुगुको गोदामामा मौज्दात रहेको खाद्यान्न भदौ महिनामै सकिन्छ ।
सोरु डिपो, कालै र रातापानी विक्री केन्द्रमा चामलको मौज्दात शुन्य छ । श्रीकोटमा २ सय ५० र पुलुमा १ सय क्वीन्टल भएपनि यो महिनामा सकिने खाद्य संस्थान मुगुका प्रमुख कर्ण रावलले जानकारी दिए ।