१३ वर्षीया बालिकालाई राजविराजमा अपरिचित दुई युवाले भदौ १२ गते राति बलात्कार गरेको आरोपमा इन्सेक सप्तरीको पहलमा पीडितकी आमाले भदौ १३ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा घटनाबारे उजुरी दिएकी छिन् ।
इन्सेक सप्तरी प्रतिनिधिको कार्यालयमा भदौ १३ गते बिहान पीडितसहित आएकी उनकी आमाले आरोपितहरूको खोजतलास गरी आवश्यक कानुनी कारबाहीका लागि इन्सेक प्रतिनिधिसमक्ष आग्रह गरेकी थिइन् ।
घर फर्किरहेकी बालिकालाई दुई युवाले नशालु पदार्थ मिसाइएको फ्रुटी खान दिएर बेहोस बनाई बलात्कार गरेको पीडितले बताएकी छिन् ।
पीडित बालिकाका अनुसार भदौ १२ गते राति ७ बजे पैदल घर फर्किरहेका बेला दुई युवाले दिएको फ्रुटी खाएर उनीहरूसँगै राजविराजको सहिद दशन चोक आएपछि बेहोस भएकी थिइन् ।
बालिका घर नफर्किएपछि राति १० बजे जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले हुलिया जाहेरी दिएकी थिइन् ।
आरोपितहरूले राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि अचेत अवस्थामा बालिकालाई घर अगाडि फेला पारेको उनकी आमाले बताइन् ।
विक्षिप्त अवस्थामा रहेकी पीडित बालिकालाई स्वास्थ्य परीक्षण, उपचार एवम् मनोविमर्शका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । पीडितले आरोपितहरूको नाम, ठेगाना बताउन सकेकी छैनन् ।
आरोपितहरूको नाम, ठेगाना नखुलेपछि प्रहरीले पीडित बालिकाले बताएको हुलियाका आधारमा खोजी कार्य सुरू गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले बताए ।