नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
जिल्ला अदालत सुनसरीमा भदौ ९ गते धरौटी बुझाएर रिहा भएलगत्तै प्रहरीले चारै जनालाई गिरफ्तार गरेको हो ।
सो पार्टीको कार्यकर्ता भएको आरोपमा सङ्खुवासभाको प्रहरी टोलीले अदालत परिसरबाटै काभ्रेका ४५ वर्षीय माधव गौतम, मोरङका ४० वर्षीय रमेश खड्का, ओखलढुङ्गाका ३८ वर्षीय घनश्याम श्रेष्ठ र ३५ वर्षीय कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई गिरफ्तार गरेको सुनसरी प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा पर्नेहरूलाई वैशाख १७ गते सुनसरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा झुम्का कारागार चलान गरेकामा भदौ ९ गते परिवारजनले धरौटी बुझाएपछि रिहा भए लगतै प्रहरीले गिरफ्तार गरेको प्रज्वलकी पत्नी सृजना तिम्सिनाले बताइन् ।
अदालतले तोकेको ५० हजार रुपियाँका दरले चारै जनाले धरौटी बुझाए लगत्तै सङ्खुवासभामा अर्को मुद्दा भएको भन्दै सङ्खुवासभाको प्रहरी टोलीले लगेको तिम्सिनाले बताइन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेलले आरोपितहरूले सङ्खुवासभामा कानुन उल्लङ्घन गरी विभिन्न घटनामा संलग्न रहेको अभिलेख देखिएकाले गिरफ्तार गरेको बताएका छन् ।