INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

सैनामैना नपा–८ शान्तिटोलमा घर भई नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल र मटितेल छर्केर आगो लगाएको आरोपमा प्रहरीले तीन जनालाई भदौ ५ गते ओर्लहवाबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका रुपन्देही जिल्ला कार्य समिति सदस्य तथा जनसरकार इञ्चार्ज लुम्बिनी सांस्कृतिक नपा–११ का ५० वर्षीय विक्रम यादव, प्रदेश सरकार सहइञ्चार्ज गैडहवा गाउँपालिका–६ का ४३ वर्षीय रुदल यादव र जिल्ला कार्य समिति सदस्य सियारी गाउँपालिका–४ का ६३ वर्षीय मुकेश भन्ने विष्णुप्रसाद तिवारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।

उनीहरूले साउन ३१ गते ढकालको घर र गाडीमा पेट्रोल र मटितेल खन्याएर आगो लगाई भागेको प्रहरीको आरोप छ ।

आगजनीबाट ढकाल चढ्ने पार्किङ गरी राखेको लु १ झ ४५६ नं. को गाडीको पछाडीको भाग जलेको र घरको अगाडिको भागमा सामान्य क्षति पुगेको थियो ।

आरोपित यादवद्वयलाई गैडहवा गाउँपालिका–२ धुपहीमा रहेको एनसिएलको टावरको तार र जाली काटी भित्र प्रवेश गरी टावर र मेशिन जडिएको तारहरूमा आगो लगाइ बम विस्फोट गराएर क्षति पुर्‍याएको समेत आरोप छ ।

गिरफ्तार भएका तीनै जना आरोपितविरूद्ध विस्फोटक पदार्थ तथा आगजनीसम्बन्धी शीर्षकमा कारबाही अगाडि बढाइने प्रहरीले जनायो ।

अन्य

भिडियो