कास्की जिल्ला कारागारमा बढ्दो डेङ्गु तथा सरुवा भाइरल सङ्क्रमणबाट बच्नका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शान्तिको लागि नागरिक समाजको सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा स्वास्थ्य कार्यलय पोखराको सहकार्यमा कारागारका तीन ओटै ब्लकमा छुट्टाछुट्टै रूपमा डेङ्गु तथा भाइरलको सङ्क्रमणबाट बच्ने उपायका बारेमा जानकारी गराइएको थियो ।
स्वास्थ्य कार्यलयका याम बरालले पोखरामा मात्र नभई नेपालभर नै डेङ्गु प्रकोप डरलाग्दो रूपमा फैलँदै गएको हुँदा यसबाट बच्न नागरिकहरू सचेत बन्नु पर्ने बताए ।
‘डेङ्गु सङ्क्रमण निम्त्याउने लामखुट्टे सफा पानीमा बस्ने गर्दछ । सफा पानीमा जम्मा हुन दिनुभएन ।’–बरालले भने–‘एउटै लामखुट्टेले ३० दिनमा करिब १ हजारको सङ्ख्यामा उत्पादन गर्ने गर्दछ । एकहप्तामा प्रजनन् प्रक्रिया पुरा हुन्छ । त्यसलाई ब्रेक गर्न सकियो भने पनि नियन्त्रणमा सुधार आउँछ ।’
नेपालमा सन् २००४ मा भित्रिएको डेङ्गुबाट यस वर्ष मात्रै पोखरामा ७१ जना पीडित बनिसकेका छन् भने गतवर्ष ५ सय ७१ जना पीडित बनेका थिए । यसवर्ष मात्रै हालसम्म ४ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ ।
बरालले भाइरल सामान्य भएतापनि बिरामीले ध्यान पुर्याउन नसक्दा अवस्था विकराल बन्ने गरेको बताए ।
पोखरा महानगरपालिका–७, ८, १४ र १७ डेङ्गु सङ्क्रमित क्षेत्रको रूपमा रहेको स्वास्थ्य कार्यलयका निमित्त प्रमुख नानिबाबु ढकालले जानकारी दिए ।
८ सय ५० जना कैदीबन्दीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै डेङ्गु सङ्क्रमणका बारेमा सचेत बनाउन कार्यक्रम आयोजना गरिएको इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले बताए ।
कारागार प्रमुख गणेश गौतमले कैदीबन्दीको स्वास्थ्य उपचारका लागि छुट्टै व्यवस्थित स्थान नहुँदा सरुवा रोग छिटो फैलने गरेको बताए ।
‘एउटै कोठामा ८० जनासम्म कैदीबन्दी राख्नुपर्ने बाध्यात्मक अवस्था छ । सरुवा रोग लागिहाले नियन्त्रणमा कठिन छ । साताअघिको भाइरल अझै नियन्त्रणमा आएको छैन ।’–उनले भने ।
साउन २० देखि कास्की कारागारमा फैलिएको भाइरल सङ्क्रमणबाट १ सय ५० भन्दा कैदीबन्दी सङ्क्रमित भएका थिए । कार्यक्रममा तीन ओटै ब्लकका करिब ५ सय कैदीबन्दी उपस्थित रहेका थिए ।


