बैद्य–प्रकाश मानव अधिकार कोषको आयोजनामा इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २७ औँ स्मृति दिवस एवम् बैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान समारोह ०७६ साउन १८ गते राजविराजस्थित नेपाल पत्रकार महासङ्घ सप्तरीको सभाकक्षमा मनाइएको छ ।
बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–०७६ बाट मानव अधिकार रक्षक, पत्रकार र सामाजिक अभियन्ताका रुपमा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल सम्मानित भएका छन् । यो पुरस्कारबाट पुरस्कृत हुने उनी चौथो व्यक्ति हुन् ।
कार्यक्रममा सम्मानित व्यक्तित्व पोखरेललाई सम्मानपत्र, दोसल्लासहित ३ हजार ५ सय ५ रुपियाँ प्रदान गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा २०७१ सालमा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज नपा–७ का पत्रकार बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट बैद्य–प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरिएको हो ।
पोखरेललाई प्रदेश १ का योजना आयोगका उपाध्यक्ष एवम् इन्सेकका निवर्तमान अध्यक्ष सुबोधराज प्याकुरेल, सामाजिक अभियन्ता गुरु बराल, प्रदेश २ का सांसद गोबिन्द न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतले सम्मानपत्र, दोसल्ला, नगदसहित सम्मान गरे ।
कार्यक्रममा प्याकुरेलले हरेक व्यक्तिलाई मानव अधिकार रक्षकको संज्ञा दिँदै मानव अधिकार आन्दोलन परम्परागत धारबाटै गुज्रिरहेकोमा चिन्ता व्यक्त गरे ।
देशमा नीतिगत रुपमै भ्रष्टाचार अघि बढेको भन्दै उनले आर्थिक–सामाजिक स्तर उकास्दै मानव अधिकारको विषयमा चासो दिने गरी सचेतनाको जागरण फैलाउनु पर्ने आवश्यकता औँल्याए ।
२५ औँ प्रकाह मानव अधिकार पुरस्कारबाट पुरस्कृत सामाजिक अभियन्ता गुरु बरालले वर्तमान परिप्रेक्ष्यमा मानव अधिकार राजनीतिक अधिकारको विषय मात्र नभएकोले अबको मानव अधिकार बहुआयामिक क्षेत्र भित्र प्रवेश गर्न जरुरी रहेको बताए ।
मानव अधिकार विषयगत र विद्यागत आधारमा अघि बढनुपर्ने भन्दै बरालले प्रदेश २ मा चुनौतिको रूपमा रहेको बाल अधिकार, शिक्षाको अधिकार र सामुदायिक विद्यालयको सुधारका लागि सबैको सहयोग लिएर स्थानीय तहले काम गर्न जरुरी रहेको बताए ।
उनले भने–‘मानव अधिकार प्रत्येक नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग सम्बन्धित छ र संविधानले सुनिश्चित गरेको छ ।’
मानव अधिकारको दायरालाई विस्तार गरेर भ्रष्टाचारविरुद्धको लडाइँ अगाडि बढाउनु पर्नेमा जोड दिँदै बरालले उपभोक्ताको हित संरक्षणको अधिकारसँगै सार्वजनिक निर्माणमा गुणस्तरको अवस्थालाई गम्भिरतापूर्वक लिनुपर्ने बताए ।
सम्मानित पोखरेलले मानव अधिकारको आधारभूत मूल्यमान्यताको संरक्षण, सम्बद्र्धन गर्दै आर्थिक विकास गरी गरिबी, पछौटेपन र अशिक्षा हटाउन एवम् संविधानप्रदत्त मौलिक हक प्रचलन गराउन आवश्यक पूर्वाधार तयार गर्न सबै जुटनु पर्ने बताए ।
उनले प्राप्त पुरस्कार राशि बराबर रकम थप गरी बेवारिसे मनोरोगीहरूको उपचार र पुनस्र्थापनामा सहयोग गर्ने घोषणा गरे ।
पत्रकार झाद्वारा स्थापित पुरस्कार कोषमा बरालले हातेमालो गरी रु ५० हजार थप गर्ने घोषणा गरेलगत्तै इन्सेकका निवर्तमान अध्यक्ष प्याकुरेलले बरालको सो अभियानमा रु १० हजार नगद सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यस अघि सो पुरस्कारबाट पहिलो पटक भूमि आन्दोलनका अगुवा बलदेव राम, दोस्रो पटक दलित आन्दोलनका अभियन्ता युक्ति मरिक र तेस्रो पटक असर्फी सदा सम्मानित भइसकेका छन् ।




