चन्द्रपुर नपा–३ वडा कार्यालयमा साउन १५ गते आगजनी गरेलगत्तै प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नतृत्वको प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्तालाई गिरफ्तार गरी सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले पत्रकार सम्मेलन गरी चन्द्रपुर नपा–४ चन्द्रनिगाहापुर टेकान टोलका स्थानीय ३६ वर्षीय मानबहादुर वाइवा, सोही ठाउँ बस्ने ३० वर्षीय रामबहादुर घिसिङ र चन्द्रपुर नपा–३ का ५२ वर्षीय रेवप्रसाद मैनालीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेको थियोे ।
प्रहरीले चन्द्रनिगाहापुरको टेकानटोलस्थित उनीहरूको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी कवित कटुवालले बताए ।
चन्द्रपुर नपा–३ को वडा कार्यालयमा आगजनी गरेको घटना लगत्तै प्रहरीले वाइवा र घिसिङलाई अनुसन्धानका लागि गिरफ्तार गरेको थियो । वाइवा र घिसिङ रौतहटमा हिंसात्मक गतिविधिमा संलग्न रहेको प्रहरीको आरोप छ ।
हतियारसहित गिरफ्तार परेका वाइवा सशस्त्र द्वन्द्वका क्रममा माओवादी कार्यकर्ता थिए । घिसिङ केही महिनायता विप्लवका सहयोगी रहँदै आएको खुलेको छ ।
वाइवा पछिल्लो समयमा सुमो गाडी चालकको काम गर्दै आएका थिए । घिसिङ गाउँमै मासु पसल चलाउँदै आएका थिए ।
साउन १५ गते रौतहटको चन्द्रपुर नपा–३ वडा कार्यालयमा आगजनी भएको थियो । वडा कार्यालयमा आगजनीको घटनामा वाइवा र घिसिङको संलग्नता रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।