कञ्चनरुप नपा–४ जगतपुरकी २१ वर्षीया प्रभा चौधरीलाई २३ वर्षीय पति पुष्पक चौधरी, ससुरा ५१ वर्षीय उमेशप्रसाद चौधरी र सासू ४७ वर्षीया जितेन्द्रादेवी चौधरीले गालीगलौज, कुटपिट गर्दै घरनिकाला गरेको भन्दै पीडितले जिल्ला अदालतमा साउन १३ गते घरेलु हिंसाको उजुरी दर्ता गराएकी छिन् ।
परीक्षा सकेर लिन आउने भन्दै माइतमा छाडी विराटनगर उमनपा–४ रामजानकी टोलस्थित डेरा हिंडेका आरोपितले सप्तरी जिल्ला अदालतमा असार १२ गते सम्बन्ध विच्छेदको उजुरी दर्ता गरेको सम्बन्धमा असार १६ गते सोधपुछ गर्न पुग्दा आरोपित पुष्पकले गलाीगलौज, कुटपिट गरी कपडाहरू डेरा बाहिर फ्याँकी घरनिकाला गरेको र घर जाँदा आरोपित सासू र ससुराले समेत घर प्रवेश गर्न नदिएपछि माइतीघरमा बस्दै आएको पीडितले बताइन् ।
घरेलु हिंसाको उजुरी किनारा नलागेसम्म घरमा बस्न, खान, कुटपिट नगरी शिष्ट व्यवहार गर्न आरोपितहरूका नाममा अन्तरिम संरक्षणात्मक आदेश समेतको पीडितले माग गरेकोमा जिल्ला अदालतले साउन १४ गते मुद्दाको किनारा नलागेसम्म घरमा बस्ने, खाने, कुटपिट नगरी शिष्ट व्यवहार गर्न अन्तरिम संरक्षणात्मक आदेश दिएको छ ।
पीडित र आरोपित पुष्पकबीच जेठ २३ गते सप्तरी जिल्ला अदालतबाट नाता कायम भई सोही दिन कञ्चनरुप नगरपालिकाबाट विवाह दर्ता समेत भएको छ ।
विवाहअघि आरोपितले ०७६ वैशाख २३ गते बेहोस बनाई विराटनगर उमनपा–४ रामजानकी टोलस्थित कृतिना श्रेष्ठको घरमा लगी बलात्कार गरेको पीडितले बताइन् ।
कतै उजुरी गरे बलात्कार गरेको भिडियो सार्वजनिक गर्ने धम्की दिँदै आएका आरोपितविरूद्ध वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय मोरङ र माइती नेपालको सहयोगमा घर फर्केपछि पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा अपहरण तथा शरीर बन्धक र बलात्कारको उजुरी दिएकी थिइन् ।
बलात्कारको अपराधबाट जोगिन आरोपितसहित उनका परिवार विवाह गर्न तयार भई जेठ २३ गते नाताकायम र विवाह दर्तासमेत गरेपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको अपहरण तथा शरीर बन्धक र बलात्कारको उजुरी तामेलीमा राख्न निवेदन दिएको पीडितले बताइन् ।
विवाहपछि विराटनगर उमनपा–४ रामजानकी टोलस्थित डेरामा लगेर आरोपित पुष्पकले दैनिक धम्क्याउने, कुटपिट गर्ने, मादक पदार्थ सेवन गरी हिंस्रक भई अप्राकृतिक यौन सम्बन्ध राख्ने गरेको पीडितले आरोप लगाएकी छिन् ।
पीडितले साउन १२ गते सप्तरी जिल्ला अदालतमा मानाचामलको उजुरी समेत दर्ता गराएकी छिन् ।