INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की जिल्ला सेक्रेटरी ४१ वर्षीय जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष २६ वर्षीय काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य २६ वर्षीय मिलन राई र कास्कीको अन्नपुर्ण गाउँपालिका घर भएका सो पार्टीका कार्यकर्ता ३२ वर्षीय सन्तोष विकलाई तनहुँ जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ ।

तनहुँ जिल्ला अदालतको आदेशमा सामान्य तारेखमा रिहा भएका उनीहरूलाई प्रहरीले राजद्रोहको मुद्दामा असार ३० पुनः गिरफ्तार गरेको प्रहरीको भनाई छ ।

राजद्रोहको मुद्दामा गत असार ४ गतेदेखि जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा रहेका उनीहरूलाई जिल्ला अदालतले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

गिरफ्तार गरिएकाहरूको विरूद्धमा स्याङ्जा जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भइसकेको कारण जिल्ला प्रहरी कार्यालय, स्याङजाको पत्र अनुसार गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए । गिरफ्तार भएका चारै जनालाई असार ३१ गते स्याङ्जा पठाईने डिएसपी लामिछानेले जानकारी दिए ।

गत असार ४ गते चारै जनालाई प्रहरीले पोखराको मुस्ताङ चोकबाट गिरफ्तार गरी प्रहरीले तनहुँ ल्याएको थियो ।

बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पोखराले असार ३ गते गिरफ्तार गरिएका सबैलाई रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशमा रिहा भएका उनीहरूलाई तनहुँ जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएको कारण पोखराबाट पुनः गिरफ्तार गरेको थियो ।

त्यस अघि गत जेठ २५ गते कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट १८ जनालाई कास्की प्रहरीले सामूहिक गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो