INSEC Online

📅 २०८३ जेष्ठ २१

१ सय ९५ जना बालश्रमिक परिवारमा पुनःस्थापित

रत्ननगरका होटल तथा लजहरूमा कार्यरत १ सय ९५ जना बालबालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुनःस्थापना गरिएको छ ।

बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको रत्ननगर उद्योग बाणिज्य सङ्घले करिब तीन वर्षको अथक प्रयासपछि श्रमिक बालबालिकालाई श्रम मुक्त गरी परिवारमा पुनःस्थापना गरेको हो ।

सङ्घले ७४ जनालाई श्रमबाट मुक्त गरी विद्यालय भर्नासमेत गरेको छ भने १ सय २१ जनालाई शैक्षिक सहयोग गरी विद्यालय जाने वातावरण तयार गरेको छ । सङ्घले श्रमबाट छुटाएर विद्यालय भर्ना गरिएका बालबालिकाका अभिभावकको आयआर्जनको लागि सीपमूलक तालिम र व्यवसाय सञ्चालनको लागि सहयोगसमेत गरेको छ ।

अभिभावकले व्यवसाय गर्ने र बालबालिका विद्यालय जाने वातावरण बनाइएको सङ्घका अध्यक्ष ज्ञानबहादुर बिसुरालले बताए । त्यसैगरी सङ्घले परिवारको आर्थिक विपन्नताका कारण विद्यालय जान नसकेर श्रममा रहेका १ सय २१ जना बालबालिकाको पहिचान गरी विद्यालय जाने वातावरण बनाएको जनाएको छ । विद्यालय भर्ना गरिएका बालबालिकाको नाममा नजिकैको बैङ्क तथा सहकारी संस्थामा खाता खोली ३ हजार रुपियाँसमेत जम्मा गरिदिएको छ । पठनपाठनका क्रममा आउनसक्ने समस्या हल गर्न बैङ्क तथा सहकारी संस्थामा खाता खोलेर पैसा जम्मा गरिदिने गरिएको अध्यक्ष बिसुरालले बताए ।

रत्ननगर नगरपालिकाले सन् २०१७ सम्म नगरपालिकालाई बालश्रम मुक्त र सन् २०१९ सम्म बालमैत्री नगर निर्माण गर्ने योजनासहित यूनिसेफ नेपालको सहयोगमा अभियान सञ्चालन गरिरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले जानकारी दिए ।

अन्य

भिडियो