पर्वत जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
२५ जना क्षमताको कारागारमा तेब्बरभन्दा बढीको सङ्ख्यामा कैदीबन्दी रहेपछि शौचालयको समस्या भएको छ । अहिले पर्वत जिल्ला कारागारमा ८५ जना कैदीबन्दी रहेका छन् ।
८५ जना मध्ये ६ जना महिला रहेका छन् । कारागारमा रहेका तीन ओटा शौचालयमध्ये एउटा महिलाहरूका लागि प्रयोगमा ल्याएको छ भने ७९ जना पुरुष कैदीबन्दीका लागि दुई ओटा शौचालय रहेका छन् ।
‘शौचालय पर्याप्त नहुँदा निकै समस्या छ ।’–कारागारमा कैदी जीवन बिताउँदै आएका मनबहादुर नेपालीले बताए । उनले शौच गर्नका लागि पालो कुरेरै लाइनमा बस्नुपर्ने अवस्था रहेको बताए ।
पछिल्लो समयमा पर्वत बागलुङ र म्याग्दीको संयुक्त सुरक्षा बैठकमा महिला कैदीबन्दी गृहलाई एकीकृत गरेर सञ्चालन ल्याउनका लागि कारागार व्यवस्थापन विभागमा माग भएपनि त्यसको ठोस निर्णय केही हुन नसकेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् ।
‘महिला बन्दी गृह जिल्ला कारागारबाट हट्ने हो भने खासै समस्या हुँदैन ।’–प्रमुख जिल्ला अधिकारी नेपालले भनिन् ।
कारागारमा कैदीबन्दीको सङ्ख्या धेरै भएपछि सुत्नका लागि समेत समस्या छ । सुत्ने उचित ठाउँ नभएपछि पुस्तकालयमा समेत साथीहरू आलोपालो सुत्ने गरेको कैदीबन्दीको भनाई छ ।
कारागारमा प्रदेश सरकारको सहयोगमा पछिल्लो समय दुई कोठे भवन निर्माणाधीन रहेकाले केही महिना पछि समस्या केही हदसम्म समाधान हुने कारागारका जेलर चिरञ्जीवी बरालले बताए ।