सर्वोच्च अदालतले थुना मुक्त गरेकै दिन नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी नेता ३५ वर्षीय बबरजङ्ग बहादुर सिंहलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
असार २७ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि कैलाली जिल्ला अदालतले रिहा गरेको थियो ।
रिहा गरेपछि अदालत परिसरबाटै प्रहरीले गिरफ्तार गर्न खोज्दा आरोपित मोटरसाइकलमा भागेका थिए । भाग्ने क्रममा प्रहरीले धनगढी उमनपा–१२ जुगेडाबाट गिरफ्तार गरेको थियो ।
विप्लव समुहका विद्यार्थी सङ्गठनका अध्यक्ष रहेका सिंह धनगढी उमनपा–१६ बाट ०७६ वैशाख २७ गते गिरफ्तारीमा परेका थिए ।
राजद्रोह र सङ्गठित अपराधको मुद्दामा ५ लाख रुपियाँ धरौटीमा कैलाली जिल्ला अदालतले छोड्न आदेश दिएको थियो ।
५ लाख रुपियाँ धरौटी नबुझाएका कारण जिल्ला अदालतले जेठ १५ गते कारागार चलान गरिएको थियो ।
०७६ जेठ ३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका सिंहलाई सर्वोच्चले बिना कारण गिरफ्तार गरिएको भन्दै असार २७ गते थुनामुक्त गर्न आदेश दिएको थियो ।
तर, थुनामुक्त हुने बित्तिकै प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको, जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेले बताए ।