INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्मीका कारण कारगारमा बिरामीको सङ्ख्यामा बृद्धि

गत वर्षको तुलनामा राजधानीमा समेत गर्मी बढेको छ । यस वर्ष असार २० गतेसम्म काठमाडौँको अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेन्टिग्रेटसम्म रहेको भएपनि यसको थपघट भइरहेको मौसम पूर्वानुमान शाखाले बताएको छ ।

समयमा भित्रनु पर्ने मनसुन हालसम्म पनि सक्रिय नहुनु पनि यस वर्षको गर्मीको मुख्य कारण मान्न सकिने मौसम पूर्वानुमान शाखाकी शान्ति कँडेलले जनाकारी दिइन् ।

गर्मीले सबै बर्गलाई असर गरिरहेको छ । त्यसमा पनि बालबालिका तथा बृद्धबृद्धालाई अझ समस्या बढी रहेको र अस्पतालमा बिरामी भर्नाको दर हेर्ने हो भने पनि यो समूह नै बढीमात्रामा आएको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका विभागीय प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए ।

राजधानीमा पानीको समस्याले पनि गर्मी समयमा रोगहरू छिटो फैलने र माहामारीको रूप लिने गरेको पुनले बताए ।

गर्मी बढेकै कारण सबैभन्दा बढी राजधानीमा रहेको केन्द्रीय कारागारमा आँखा पाक्ने, झाडापखाला, हैजा, ज्वरो र अचेत हुने बिरामी बढ्न थालेका छन् ।

क्षमताभन्दा बढी कैदिबन्दी राख्नुपर्ने बाध्यता राजधानीका कारागारहरूमा रहेका कारण सरूवा रोगहरू छिटो फैलिने समस्या नै प्रमुख चुनौती बनेको छ ।

उपचार तथा विभिन्न मुद्दामा सजाय भोगिरहेका अन्य जिल्लाका कैदिबन्दीहरू पनि राजधानी ल्याइने भएकाले गर्मीको समयमा झनै समस्या बढेको हो ।

काठमाडौँमा सामान्य अवस्थामा दैनिक २–३ जना मात्रै त्यो पनि दिर्घ रोगको उपचारमा पठाउने गरेपनि पछिल्लो समय बढेको गर्मीका कारण १०–१२ जनासम्म पुग्ने गरेको सुन्धारा कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. भगतलाल श्रेष्ठले जानकारी दिए ।

कारागारमा नै उपचारका लागि चिकित्सक रहेका छन् । तर, आवश्यक उपकरण नभएको र पर्याप्त ठाउँको अभावमा उपचार सम्भव नभएपछि उनीहरूलाई वीर अस्पताल पठाउनुपरेको डा. श्रेष्ठले बताए ।

श्रेष्ठले सामान्य ज्वरो, झाडापखाला जस्ता रोगहरूको औषधि वितरण गरिएपनि त्यसपछिको थप उपचारका लागि भने वीर अस्पताल, टिचिङ तथा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा पठाइँदै आएको बताए ।

सुन्धारा कारागारको क्षमता १ हजार २ सय ५० जनाको भए पनि अहिले कारागारमा करिब २ हजार जना कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले बिरामी कैदिबन्दीलाई छुट्टै राखेर उपचार गर्न समेत सम्भव नभएको कारागारका शाखा अधिकृत गोकर्ण खनालले जानकारी दिए ।

निमित्त सुपरिटेन्डेन्ट डा. श्रेष्ठका अनुसार भएका कैदीबन्दीमध्ये १ सय भन्दा धेरैलाई मुटु तथा फोक्सोको रोग रहेको छ ।

चिसो र गर्मी दुवै कारणले यस किसिमका रोगीहरूलाई समस्या रहने रहेको उनको भनाई छ । यो वर्ष मात्रै मुटु तथा फोक्सोका कारण मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको छ ।

अन्य

भिडियो