नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेव भट्टलाई प्रहरीले असार १७ गते जिल्ला प्रशासन कार्यालय तनहुँको परिसरबाटै गिरफ्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको आदेश बमोजिम धरौटी रकम बुझाएर रिहा हुने क्रममा उनीहरूलाई प्रहरीले प्रशासन कार्यालयको मुद्दा शाखा भित्रैबाट पुनः गिरफ्तार गरेको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले भट्टलाई असार ८ गते र कुमाललाई असार १३ गते जनही २ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
उनीहरू दुवै महिला प्रहरीलाई अभद्र व्यवहार गरेको मुद्दामा थुनामा थिए । धरौटी रकम बुझाएर रिहा गर्ने आदेश दिएपनि उनीहरू दुवै जनाले सो दिन धरौटी बुझाउन इन्कार गरेका थिए ।
तर, असार १७ गते इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको रोहबरमा धरौटी रकम बुझाएर रिहा हुने क्रममा उनीहरू दुवैलाई गोरखा जिल्ला प्रहरी कार्यालयको पत्र अनुसार तनहुँ प्रहरीले पुनः गिरफ्तार गरेको प्रहरीको भनाई छ ।
उनीहरूलाई असार १७ गते नै गोरखा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए । उनीहरूको विरूद्धमा गोरखामा बम विष्फोटमा संलग्न भएको मुद्दा दर्ता भएको डिएसपी लामिछानेले बताए ।
यसअघि उच्च अदालत पोखराको आदेशमा जेठ १४ गते रिहा भएका भट्टलाई आँबुखैरेनी प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।
त्यस यता उनी जिल्ला प्रहरी कार्यालयको हिरासत थिए । त्यस अघि उनीहरू दुवैलाई वैशाख २७ गते गोरखाबाट प्रहरीले गिरफ्तार गरेको थियो ।