सिंचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तवलाई असार १२ गते सत्तारुढ नेकपा समर्थित युवाहरूले कार्यालयमै मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवलाई कार्यालयबाटै असार १२ गते दिउँसो गिरफ्तार गरेको थियो । गिरफ्तार भएका श्रीवास्तवलाई नेकपा समर्थित युवाहरूले कार्यालयमै मोसो दलेका थिए ।
श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा २ लाख रुपियाँ कमिशन माग गरेको आरोपमा गिरफ्तारीमा परेका थिए ।
उनले कमिशन बापत लिएको २ लाख रुपियाँ घूस रकम भान्सामा रहेको चामलको बोरामा लुकाएर राखेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले फेला पारेको जनाएको छ ।